काठमाडौं । संसद विघटनप्रति विरोध गर्दै नेपाली कांग्रेसले आज देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको छ ।
संसद् विघटनको विरोधमा कांग्रेस भक्तपुर क्षेत्र नं २ ले गरेको कार्यक्रममा बोल्दै सभापति शेरबहादुर देउवाले संसद् विघटन गर्ने कदम गलत भए पनि सो बारे अदालतमा मुद्दा विचाराधिन रहेकाले सो मुद्दालाई प्रभावित हुने गतिविधि कांग्रेसले नगर्ने बताएका छन् ।
अदालत स्वतन्त्र निकाय भएकोले त्यसको निर्णय कुरिरहेको बताउँदै देउवाले भने “अदालतलाई हामीले सबैभन्दा स्वतन्त्र निकाय मानेका छौँ। नेपाली कांग्रेस न्यायालय मान्ने पार्टी हो, पक्षमा होस् वा विपक्षमा, न्यायालयबाट आउने निर्णय हामी मान्नेछौँ ।”
पञ्चायतको बेला पनि न्यायालय स्वतन्त्र रहेको स्मरण गर्दै सभापति देउवाले दुई तिहाइ कम्युनिष्टको सरकारले न्यायालयलाई प्रभावित पार्न खोजे पनि न्यायालयले आफ्नो स्वतन्त्र छविलाई कायम राखेको बताए ।
संसद् विघटनबारेको मुद्दा अदालतको स्वविवेकमा होस् भन्दै सभापति देउवाले अदालतलाई धम्क्याउने र तर्साउने काम नगर्न चेतावनी दिएका छन् ।