काठमाडौं । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौको नेतृत्वमा आएको चार सदस्यीय टोलीले बालुवाटारमा शिष्टाचार भेटवार्ता गरेको छ ।
आइतबार बेलुकी भएको भेटमा दुई देशबीचको हितका विषयमा कुराकानी भएको प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले बताएका छन् ।
भेटमा येचौले चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष तथा चिनियाँ राष्ट्रपति सि जिङपिङ, महासचिव र चिनियाँ प्रधानमन्त्रीले नयाँ वर्ष २०२१ का लागि दिएको शुभकामना सन्देश सुनाएका थिए ।
सो क्रममा उनले दुई देशका कम्युनिष्ट पार्टीको सम्बन्धका बारेमा चर्चा गरेका थिए । सल्लाहकार भट्टराईका अनुसार चिनियाँ टोलीले दुई देशबीच गहिरिदैं र झ्याँङ्गिदै गएको सम्बन्धमा खुशी व्यक्त गरेका छन्।
उनीहरूले दुई देश र दुई कम्युनिष्ट पार्टीबीच लामो समयदेखि परस्पर सम्बन्ध रहेको र आगामी दिनमा पनि जारी रहने बताएको उनको भनाइ छ। सम्बन्धले नयाँ उचाइ हासिल गर्दै जाने आशा चिनियाँ पक्षले सो भेटमा राखेका थिए ।
प्रधानमन्त्री ओलीले एक असल छिमेकी देशको नाताले चीनले नेपालको आर्थिक विकासको क्षेत्रमा सहयोग गरेको र भविष्यमा पनि यो सहयोग रहने विश्वास व्यक्त गरेको बताइएको छ ।
चिनियाँ टोलीसँगको भेटमा प्रधानमन्त्री ओलीले गत वर्ष भएको राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण र राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको स्मरण गरेको सल्लहकार भट्टराईले जानकारी दिएका छन् ।
चिनियाँ टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग आइतबार साँझ ५ बजेबाट करिब एक घण्टा भेटवार्ता गरेको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीले बताएका छन् ।
चिनियाँ टोलीले आज विहान नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग खुमलटार निवासमा भेटवार्ता गरेको छ भने वानेश्वरमा अर्का नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेको छ । उनीहरुले वरिष्ठ नेता झलनाथ खनाल, जसपाका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ड. बाबुराम भट्टराई, कांग्रेसका नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ ।
नेपालमा प्रतिनिधि सभा विघटन र सत्तारुढ नेकपामा विभाजन आएपछि राजनीतिक संकट बढेका बेला चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओले नेतृत्व गरेको प्रतिनिधिमण्डल आइतबार काठमाडौं आइपुगेको हो ।