काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले उद्योग–व्यवसायको विकासमार्फत रोजगारी सिर्जना, आत्मनिर्भर अर्थतन्त्र निर्माणमा लाग्न सुझाव दिनुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारी टोलीले आइतबार औपचारिक भेटवार्ता गरेको अवसरमा राष्ट्रपतिले महासङ्घको नवनिर्वाचित पदाधिकारीलाई बधाईसहित कार्यकालको सफलताको लागि शुभकामना दिनुभयो ।
महासङ्घका अनुसार सो अवसरमा राष्ट्रपति भण्डारीले हामीसँग पर्याप्त सम्भाव्यता भएर पनि पछि परेको उल्लेख गर्दै भन्नुभयो “प्राकृतिक स्रोत साधनमा हामी धनी छौँ । बजारका लागि कुनै समस्या छैन तैपनि पर्याप्त लगानी आउन सकेको छैन । यस्तो परिस्थिति कसरी अन्त्य गर्न सकिन्छ, यसमा तपाईंहरू गम्भीर भएर लाग्नुहोस् । ”
चुलिँदो व्यापार घाटाप्रति पनि राष्ट्रपतिले चिन्ता व्यक्त गर्नुभएको थियो । उहाँले स्वदेशी लगानी आकर्षण राज्यको प्रमुख प्राथमिकता हुनुपर्ने र यसो हुनसकेमा मात्र बाह्य लगानीसमेत आकर्षित हुनेहुँदा कृषि, ऊर्जा, पर्यटन क्षेत्रको विकासमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सरकार–निजी क्षेत्र सहकार्यमा राष्ट्रपतिले जोड दिनुभएको थियो । ”
महासङ्घका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा निवर्तमान अध्यक्ष भवानी राणा, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अञ्जन श्रेष्ठ, रामचन्द्र सङ्घई र कोषाध्यक्ष सुकुन्तलाल हीराचनसहितको पदाधिकारी प्रतिनिधि मण्डलले राष्ट्रपतिसमक्ष महासङ्घको नयाँ नेतृत्वले सम्मानित निजी क्षेत्र र समुन्नत मुलुक निर्माणका लागि महासङ्घ विशेष लक्ष्यसहितको भिजन पेपर तयारीमा लागेको जानकारी गराएको थियो ।
सो अवसरमा अध्यक्ष गोल्छाले साना तथा मझौला उद्यमलाई कोभिडको प्रभावबाट बाहिर ल्याउन सबैभन्दा बढी सहयोग आवश्यक हुने देखिएको औँल्याउँदै यसका लागि कोभिड पुनरुत्थान विशेष कार्यक्रम आवश्यक भएकामा पनि जोड दिनुभयो ।
वार्षिक चार लाख युवाका लागि रोजगारी सिर्जना गर्ने र दोहोरो अङ्कको आर्थिक वृद्धिको लक्ष्य महासङ्घले लिएको जानकारी गराउँदै अध्यक्ष गोल्छाले सरकारबाट भिजन पेपरमा काम गर्न स्वीकृति लिएर सहकार्यमा लगिने योजना रहेको राष्ट्रपतिसमक्ष जानकारी गराउनुभयो ।
अध्यक्ष गोल्छाले कोभिडका कारण मुलुकको आर्थिक वृद्धिदर १ प्रतिशतभन्दा कम हुने प्रक्षेपण भइरहेको सन्दर्भमा समग्र अर्थतन्त्रलाई थप बिग्रन नदिन सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेकामा जोड दिनुभयो । प्रतिनिधि मण्डलले कृषि, पर्यटन, पूर्वाधार निर्माण, ऊर्जालगायतका क्षेत्रसँग जोडिएका राष्ट्रिय गौरवका आयोजनाहरू छिटो सम्पन्न गर्न पहल हुनुपर्ने, मुलुकभित्र उपलब्ध प्राकृतिक स्रोतसाधनको समुचित विकासमार्फत आर्थिक विकास, रोजगारी सिर्जनामा सरकारको ध्यान जानुपर्ने औँल्याउनुभएको थियो ।