काठमाडौँ । नवनियुक्त वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले वन क्षेत्रमा भएका राम्रा कामलाई प्रोत्साहन गर्ने र विकृति भए सबै मिलेर हटाउनुपर्ने बताएका छन् । मन्त्रालयमा आइतबार पद बहालीका क्रममा उनले सबै कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशनसमेत दिए ।
मन्त्री आलेले आफू प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा रहँदा वन क्षेत्रका केही विकृति र गुनासा देखेको औँल्याउँदै त्यसलाई हटाई उत्कृष्ट मन्त्रालयका रुपमा चिनाउन हरदम लागिपर्ने बताए । मन्त्रालयका काम कारवाहीमा कार्यालय सहयोगीदेखि सचिवसम्म सबैको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै मन्त्री आलेले एक परिवारसरह काम गर्न निर्देशन दिए ।
वातावरण र संरक्षणका कार्य चुनौती रहेकाले यसमा सबैले मिलेर जिम्मेवारीका साथ काम गर्नुपर्ने बताउँदै उनले विकास र वातावरणबीच सन्तुलन गरी विकास निर्माणका कार्यलाई सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
मन्त्री आलेले विकास निर्माणका लागि आवश्यक पर्ने वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) बनाउनका लागि समय लाग्ने र त्यसले विकास निर्माणमा प्रभाव पार्ने भएकाले त्यसलाई कानूनमा नै व्यवस्था गरेर सजिलो बनाउने बताएका छन् ।
मन्त्री आलेले सरकारले मध्यावधि निर्वाचन घोषणा गरिसकेका कारण आफ्नो कार्यकाल छोटो रहेकाले द्रुत गतिमा काम गर्नुपर्ने बताउँदै यसमा सबै कर्मचारीको सहयोगको अपेक्षासमेत गरेका छन् ।
नेकपाका नेता तथा विघटित प्रतिनिधिसभामा डोटी जिल्लाबाट प्रतिनिधित्व गरेका आलेलाई नेकपाभित्र निडर नेता, स्पष्ट वक्ताका रुपमा चिनिन्छ । त्यसैले पनि यस्तो विषम परिस्थितिमा प्रधानमन्त्री ओलीको रोजाइमा उनी परेका हुन । विसं २०७४ को निर्वाचनमा नवनियुक्त मन्त्री आलेले ३२ हजार ५१० मत प्राप्त गरी विजयी भएका थिए ।
प्रधानमन्त्री ओलीले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई सार्थक पार्नको लागि आफूले भरमग्दुर प्रयास गर्ने प्रतिवद्धता मन्त्री आलेले जनाएका छन् ।
विदेशबाट आयात गरिने काठलाई निरुत्साहित गर्दै नेपाललाई काठमा आत्मनिर्भर बनाउने पनि मन्त्री आलेले बताएका छन् । मन्त्री आलेले आर्थिक अनुशासन मितव्ययितासम्बन्धी र वेरुजु फर्छ्यौट कार्ययोजना बनाई कार्यान्वयन गर्ने पहिलो निर्णय गरेका छन् ।
कार्यक्रममा सचिव डा. विश्वनाथ ओली, मन्त्रालयअन्तर्गत निकायका प्रमुख, विभागीय प्रमुखलगायतको सहभागिता थियो ।