काठमाडौं । नेकपाका उपाध्यक्ष वामदेव गौतम र गृहमन्त्री रामबहादुर थापालाई आफ्नो समूहमा ल्याउने प्रयास गरेपनि पुष्पकमल दाहाल–माधव नेपाल समूह असफल भएका छन् । मन्त्री क्वाटर पुलचोक पुगेर दाहालले गृहमन्त्री थापालाई फकाउने प्रयास गरेका थिए भने उपाध्यक्ष गौतमलाई भेट्न भेट्न माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ भैसेपाटी गौतम निवास पुगेका थिए । विभाजनतर्फ उन्मुख नेकपाको कुनै पनि भेलामा नजाने अडान गौतमले लिएका छन् भने थापाले केही दिनमा निर्णय गरौला भन्ने जवाफ दिएका छन् ।
दाहाल–नेपाल समूहको भेटपछि उपाध्यक्ष गौतम र सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापाबीच बेग्लै छलफल भइरहेको छ । वामदेवलाई भेट्न बादल भैंसेपाटी पुगेका छन् । दुवै नेतालाई बैठकमा सहभागी हुन दाहाल–नेपाल समूहले अनुरोध गरेपनि उनीहरु वैठकमा नगई छुट्टै छलफलमा जुटेका हुन ।
यसैवीच माओवादी पृष्ठभूमिका टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापाले प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने भएका छन् । पार्टी विभाजनको रेखा दाहालले पहिले कोरेकाले आफूहरुले उनलाई साथ दिन नसकेको उनीहरुले बताएका छन् ।