काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को महाधिवेशन २०७८ मंसिर २ गतेका लागि तोकिएको छ। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा आज बसेको केन्द्रीय कमिटी बैठकले उक्त निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । सोही वैठकले नारायाणजी श्रेष्ठलाई प्रवक्ताबाट हटाएर ज्ञावलीलाई जिम्मेवारी दिएको थियो ।
प्रवक्ता ज्ञवालीका अनुसार महाधिवेशन काठमाडौंमा मंसिर २ गतेदेखि ७ गतेसम्म हुनेछ।
आजकै बैठकले ११ सय ९९ सदस्यीय केन्द्रीय महाधिवेशन आयोजक कमिटी पनि गठन गरेको छ ।

पार्टीको प्रथम अध्यक्षका हैसियतले केपी शर्मा ओलीले केन्द्रीय कमिटीमा ५५६ जनालाई सोमबार मनोनयन गर्नु भएको थियो । उक्त नामावली आज बसेको वैठकले अनुमोदन गरेको छ अर्को वैठक पुस ९ गते बस्ने भएको छ ।
२०७८ साल मंसिर २ गते महाधिवेशन गर्ने मिति तय गर्दै आयोजक समिति समेत बनाएको छ । समितिमा कुल ११९९ सदस्यीय रहने र त्यसमा वर्तमान केन्द्रीय कमिटीका ४४७ जना, मनोनित गरिएका ५५६ जना रहेका छन् । त्यसमा रिक्त १९६ जना पछि थप गर्ने बताइएको छ ।
बैठकले हालै विघटित प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरु स्वतः महाधिवेशन आयोजक समिति सदस्य रहने जनाएको छ । थप गरिएका महाधिवेशन आयोजक कमिटीका सदस्यलाई ओलीले आजै बालुवाटारमा सपथ गराउनु भएको छ ।
निर्वाचन आयोगमा बुझाउने प्रयोजनका लागि केन्द्रीय सदस्यहरुको हस्ताक्षर संकलन समेत भएको छ । दाहाल र उनी पक्षीय नेताहरुलाई कारबाही गर्ने निर्णय गरी निर्वाचन आयोगमा केन्द्रीय सदस्यहरुको नामावली बुझाउने तयारी भएको छ ।

























