काठमाडौं । झण्डै दुई तिहाई जनमत पाएको बर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको बर्तमान सरकारलाई आफनै दलका नेताहरुले काम गर्न नदिएर अप्ठ्यारो पारेकै कारण संसद बिघटन गर्न बाध्य हुनुपरेको धारणा जलश्रोत बिज्ञ सूर्यनाथ बास्तोलाको रहेको छ ।
सरकारले अगाडि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारालाई कार्यान्वयन गर्न नदिइएको र त्यो मौका प्रधानमन्त्री ओलीले नपाएकोले बाध्य भएर अहिलेको अवस्था आएको धारणा उनको छ । अव संसद नरहेको र अवरोध गर्नेहरु पनि बिस्तारै साइड लाग्दै जाने भएकाले प्रधानमन्त्री ओली नेतृत्वको सरकारले अगाडि सारेको नारा क्रमशः कार्यान्वयन हुने वास्तोलाको बिश्वास छ ।
नेपालको निजामती प्रशासनमा ३० बर्ष काम गरेर अवकाश लिएपछि अमेरिका र क्यानाडा गएर त्यहाँको बिकास निर्माण र राजनीतिलाई नजिकबाट अध्ययन र अवलोकन गरेर आफूले धेरै कुराको अनुभव बटुलेको बास्तोला भनाई छ । मुलुक बिकास गर्नको लागि मुख्य कुरा राजनीतिक बातारण नै आवश्यक भएको उनको धारणा छ । उनी भन्छन् “जनमत पाउँदैमा मात्र सवै कुरा हुने होइन, त्यसका लागि काम गर्ने वातारण चाँही मुख्य कुरा हो ।”
मुलुकलाई समृद्ध बनाउनको लागि नेपाली जनताले गत निर्वाचनमा नेकपालाई पूर्ण बहुमतका साथ सरकार संचालनको म्याण्डेड दिएपनि आफ्नै दलका नेताहरुले प्रधानमन्त्री ओलीलाई काम गर्न अवरोध गरेकै कारण अहिलेको अवस्था आएको हो ।
वास्तोला भन्छन् “प्रधानमन्त्री ओलीमा मुलुकमा केही गरेर देखाउने दृढ इच्छा शक्ति पनि छ । तर उनले त्यो मौका नै पाउन सकेनन । मुलुक बिकास गर्नको लागि पहिलो कुरा आफ्नै मुलुकभित्र सहज रुपमा उपलव्ध रहेको अपार जलश्रोतलाई उपयोग गर्नु अहिलेको आवश्यकता हो । त्यसको लागि बर्तमान सरकारले अध्ययन अनुसन्धानका कामलाई शुरुमा त योजना नै बनाएर अगाडि बढन जरुरी हुन्छ ।”
“नेपाललाई छिटै समृद्ध बनाउने मुख्य आधार भनेकै जलश्रोत हो । जलश्रोतको उचित किसिमले परिचालन र प्रयोगमा नल्याएसम्म हामी समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यमा पुग्न सक्दैनौ ।” वास्तोला भन्छन् “त्यसको लागि नेपालले हाम्रा छिमेकी मुलुकहरुसँग सहकार्य गरेर ठुलठुला जलबिद्युत परियोजनाहरु निमार्ण गर्नका लागि आवश्यक पर्ने लगानी भित्राउने बातावरण तयार गर्नुपर्छ । यो सँगै निर्धारित समयमा उर्जा उत्पादन गर्न सक्नुपर्दछ । नेपालमा उत्पादित बिजुली छिमेकी मुलुकहरुलाई सजिलै बेच्न सकिन्छ ।”
पयर्टनलाई भन्दा पनि हामीले जलश्रोतलाई नै बढी प्राथमिकता दिनुपर्ने वास्तोलाले बताएका छन् । उनी भन्छन् “पर्यटनबाट फाइदा लिन समय लाग्छ । राजनीतिक रुपमा छिमेकी मुलुकहरुसँग राम्रो सम्वन्ध बनाएर र साथै उनीहरुलाई बिश्वासमा लिएर लगानी भित्र्याउनु नै अहिलेको आवश्यकता हो । त्यसको लागि बर्तमान ओली नेतृत्वको सरकारले राजनीतिक वातारण नै बनाउन आवश्यक छ ।” बास्तोला भन्छन् “त्यसो गर्न सकिएको खण्डमा नेपालमा उत्पादित बिजुली सजिलै छिमेकी मुलुक भारत, बङलादेशलगायत अन्य मुलुकहरुमा सप्लाई गर्न सकिने छ । उनीहरुलाई ऊर्जाको निक्कै आवश्यकता पनि छ । त्यसको लागि पहिला राजनीति तहबाटै कुरा अगाडि बढाएर उनीहरुलाई नेपालमा लगानी गर्ने र भित्राउने वातारण तयार गर्न आवश्बयक हुन्छ ।”
अव प्रधानमन्त्री ओलीले जलश्रोत बिज्ञहरुसँग सरसल्लाह गरेर छिट्टै नै जलस्रोतको भरपुर उपयोग गर्ने र जलस्रोतलाई मुलुकको मुख्य आम्दानीको स्रोत बनाउने वातावरण तयार पार्दै अगाडि बढन ढिलाई गर्न नहुने उनको कथन छ । यसबाट नै मुलुकमा समृद्धिको ढोका पनि खुल्ने उनको विश्वास छ । यस्का लागि लगानी बोर्ड, राष्ट्रिय योजना आयोगलगायत सरोकारवाला निकायमार्फत बातावरण तयार गर्नको लागि प्रधानमन्त्री तहवाटै निर्देशन हुनु जरुरी रहेको वास्तोलाको ठम्याइ छ ।