काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी, सरकार र संसदलाई जनताको हितमा केन्द्रित गर्ने आफ्नो अभियानलाई निरन्तर वाधा र अडचनको प्रयास भएपछि नयाँ जनादेशमा जानु परेको स्पष्ट गर्नु भएको छ ।
देशबासीको नाममा आज सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले संसदलाई केही नेताहरुको बन्धक बनाउनु जनादेश विपरित भएको र मुलुकलाई निकास दिनैपर्ने अवस्था भएकाले संसद विघटन गरेर नयाँ निर्वाचनको घोषणा गर्नुपरेको प्रष्ट पार्नुभएको छ । निर्वाचनको घोषणाले पार्टी एकतालाई झन बलियो बनाउने उहाँले विश्वास व्यक्त गर्नुभएको छ ।
प्रतिकुलताकाबीच पनि सरकारले युगान्तकारी काम गरेको बताउउँदै प्रधानमन्त्री ओलीले प्रतिपक्षी दललाई उछिनेर पार्टी भित्रकै केही नेताहरु सरकारको विपक्षमा उभिएपछि सोचिएजस्तो सरकारले काम गर्न नसकेको स्वीकार गर्नुभएको छ ।
मुलुकको नेतृत्व आर्थिक, सामाजिक समृद्धि कायम गर्नसक्ने नयाँ पुस्तामा जावस् भन्ने आफूले सोचे रहेको पनि उहाँले बताउनु भएको छ ।
मुलुकको जटिल अवस्थामा नियमित महाविधेशन हुन नसक्ने हो भने भनेपनि विशेष महाधिवेशन गरेर पनि पद हस्तान्तरण गर्न आफू तयार रहेको नेताहरु समक्ष वारम्वार बताउँदा उल्टै आफ्नो राजनीतिक चरित्रहत्या गर्नेमा केही नेताहरु लागेको प्रधानमन्त्री ओलीले बताउनु भएको छ ।
पुस ४ गते अर्का अध्यक्ष पुष्पकमल दाहालको निवासमै गएर आरोपपत्र फिर्ता गर्न आग्रह गरेको स्मरण गर्नुहुँदै प्रधानमन्त्री ओलीले नेतृत्व हस्तान्तरणको प्रस्ताव पनि आफूले गरेको बताउनुभएको छ । पार्टीको नेतृत्वदायी कमिटीलाई पार्टी विधान विपरितको लिकमा नजान आग्रह गर्दा त्यसलाई उहाँहरुले आफ्नो कमजोरीको रुपमा हेरेको बताउनु भएको छ ।
पार्टी विभाजनको अप्रत्यक्ष घोषणा अर्को पक्षले गरिसकेको वताउँदै प्रधानमन्त्री ओलीले पार्टी अध्यक्ष, संसदीय दलका नेतालाई थाहै नदिई हस्ताक्षर संकलनमा लाग्नु पार्टी पद्धतिको विरुद्धमा भएको बताउनु भएको छ ।
नेपालको भूभाग समेटेर नयाँ नक्सा प्रकाशन, सर्वसम्मतिको रुपमा संविधान संशोधन, मित्रराष्ट्र भारतसँग वार्ता भइरहेको र चीनसँग प्रोटोकलमा हस्ताक्षर जस्ता सरकारले ऐतिहासिक कामहरु गरिरहेको अवस्थामा सरकारलाई असहयोग र असफल पार्ने गम्भीर षडयन्त्र पार्टीकै केही नेताहरुबाट भएको उहाँले स्पष्ट गर्नु भएको छ ।
नाकाबन्दीको साहसको साथ सामना गर्दै नेपालको पारवहन सुविधा विस्तार गरी सुनिश्चित गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले त्यतिबेला पनि आफू नेतृत्वको सरकारलाई अपदस्त गर्ने काम भएको बताउनु भयो । परिस्थिति र सन्दर्भ फरक भएपनि पात्रहरु त्यतिबेला र अहिलेका उही भएको उहाँले बताउनु भएको छ ।
थुप्रै प्रतिकुलताका बाबजुद नेपालले तीन वर्षमा कतिपय क्षेत्रमा फडको नै मारेका वताउनु भएको छ । सुशासनको क्षेत्रमा पनि सरकारले राम्रो काम गरिरहेको बताउनु भएको छ । प्रतिपक्षले नियन्त्रण र सन्तुलनको भूमिका खेल्छ तर सत्तापक्षकै केही साथीहरु प्रतिपक्षभन्दा आक्रमक विडम्बनापूर्ण अवस्था सिर्जना गरेको उहाँले बताउनुभएको छ । निर्वाचन लोकतन्त्रको आत्मा भएको वताउँदै प्रधानमन्त्री ओलीले यो सबैभन्दा उन्नत विधि भएको बताउनु भएको छ । बन्द कोठामा औचित्यहिन सम्झौतामा अल्झनु उपयुक्त नहुने ठानेर जनतालाई फैसला गर्न दिन निर्वाचन घोषणा गरेको स्पष्ट गर्नु भएको छ ।
प्रधानमन्त्री ओलीले भन्नु भएको छ “नेपालको संविधानले सार्वभौमसत्ता जनतामा नीहित गरेको छ । जनताको राजकीयसत्ता निर्वाचन मार्फत व्यक्त हुन्छ, त्यसले लोकतन्त्रलाई सुदृढ र परिपक्व बनाउँछ ।”
प्रधानमन्त्री ओलीले भन्नुभएको छ “मुलुक जनप्रतिनिधिविहिन छैन, राष्ट्रियसभा, प्रदेश सभा र स्थानीय तह क्रियाशील छन्, राजनीतिक नेतृत्व गरिरहेका छन्, राज्यका सुरक्षाअङ्गहरु आफ्नो कर्तव्य पालना गरिरहनुभएको छ । चार महिनापछि नयाँ प्रतिनिधिसभा गठन भइनै हाल्छ ।”
लोकतन्त्रको रक्षाका लागि सबै युवालाई एकतावद्ध भएर अगाडि बढ्न आव्हान गदै प्रधानमन्त्री ओलीले मुलुक अस्थिरतातर्फ धकिलिन्छ भन्ने निराधार हल्लाको पछि नलागि सबैले आम निर्वाचनको तयारीमा केन्द्रित हुन अनुरोध गर्नु भएको छ ।