काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विघटित प्रतिनिधि सभाका सदस्यहरूसँग बालुवाटारमा आज छलफल गर्नुभएको छ ।
प्रधानमन्त्रीले संसद् विघटन भइसकेपछि पछिल्लो राजनीतिक घटनाक्रम र भावी रणनीति तय गर्न प्रतिनिधिसभा सांसदहरूलाई बोलाइ छलफल गर्नुभएको एक नेताले बताउनु भएको छ ।
संसद विघटनबारे स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले ताजा जनादेशमा जाने आफ्नो रहर नभएको बताउनु भएकोछ । पार्टीभित्र आफूलाई घेराबन्दी गर्ने, देशी विदेशी शक्तिसँग मिलेर षड्यन्त्र गर्ने र सरकारलाई काम गर्न नदिने खेल भएपछि आफूले नयाँ जनादेशको निर्णय लिएको उहाँले स्पष्ट गर्नु भएको छ ।
उपाध्यक्षभन्दा मन दुखाउलान् भनेर मात्र पुष्पकमल दाहाललाई अध्यक्ष दिएको पनि ओली बताउनु भएको छ । संसदीय दलको नेता र पार्टीको अध्यक्ष आफू भएको भन्दै प्रधानमन्त्री ओलीले उपयुक्त समयमा संसदीय दल र केन्द्रीय कमिटीको बैठक बोलाउने बताउनु भएको छ ।
आजको बैठकले पछिल्लो राजनीतिक विषयमा केन्द्रित हुँदै छलफल गरी आवश्यक रणनीति तय गर्ने तयारी भएको नेकपाका नेताहरुले बताउनुभएको छ ।
आइतबार प्रतिनिधिसभा विघटन भएपछि स्पष्ट रुपमा दुई खेमामा विभाजित नेकपाका नेताहरुले आज छुट्टाछुट्टै भेला आयोजना गरेका हुन । अध्यक्ष तथा प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेता तथा विघटित प्रतिनिधिसभाका सांसदहरुको भेला आयोजना गर्नु भएको हो भने दाहाल–माधव नेपाल समूहले आफ्ना पक्षका नेता तथा विघटित प्रतिनिधिसभाका सांसदहरुको भेला नयाँ बानेश्वरस्थित संसद भवनमा गर्दैछन् । दाहाल–नेपाल समूहको भेलाले पनि राजनीतिक संकट तथा प्रधानमन्त्रीले चाल्नुभएको कदमको समीक्षा गर्दै आवश्यक रणनीति तय गर्ने बताइएको छ ।