काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा परेको रिट र सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा आज हेर्न नभ्याइनेमै राखिएको छ ।
संवैधानिक इजलासमा रहेका दुवै मुद्दा हेर्न नभ्याइनेमा परेका हुन् ।
अध्यादेश खारेजीको माग गर्दै अधिवक्ता ओमप्रकाश अर्याललगायतले दायर गरेको रिटको सुनुवाइ र सभामुख सापकोटाविरुद्धको मुद्दाको सुनुवाइ आज हुने गरी पेसीमा चढाइएको थियो ।
मंसिर ३० गते राष्ट्रपतिले अध्यादेश ल्याएपछि सो संविधान विपरित रहेको भन्दै अधिवक्ता अर्यालले त्यसको भोलिपल्टै रिट दायर गरेका थिए ।
सापकोटाविरुद्ध नौ वर्ष अघिदेखि अदालतको अवहेलनासम्बन्धी मुद्दा छ । काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको संलग्नता रहेको भन्दै उनकी पत्नी पूर्णिमाया लामाले दायर गरेकी थिइन् । यो मुद्दा सर्वोच्चको संवैधानिक इजलासमा रहेको छ।
सापकोटाको मुद्दा प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा परेको थियो ।
यसअघि ३० फागुन २०७६ मा यो मुद्दा पेसीमा चढाइएको थियो, तर हेर्न नभ्याएपछि सुनुवाई सरेको थियो ।