काठमाडौं । सर्वोच्च अदालतमा संघीय प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दाको पेसी तोकिएको छ।
सापकोटाविरुद्धको मुद्दा आज प्रधानन्यायाधीश सम्मिलित पूर्ण इजलासको संवैधानिक फाँटमा पेसीमा चढेको हो ।
सापकोटाविरुद्ध नौ वर्ष अघिदेखि अदालतको अवहेलनासम्बन्धी मुद्दा छ । काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको संलग्नता रहेको भन्दै यससम्बन्धी मुद्दा रहेको छ। यो मुद्दा सर्वोच्चको संवैधानिक इजलासमा रहेको छ।
पछिल्लोपटक सभामुख सापकोटाले संवैधानिक परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको परिषदको बैठक बहिष्कार गरेका थिए । गत आइतबार परिषदको बैठक डाकिएको थियो । उक्त बैठकमा सभामुखसँगै प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा समेत सहभागी भएनन् । त्यसपछि मंगलबार बिहान पुनः बैठक बसेको थियो । त्यसमा देउवा सहभागी भए तर सापकोटा पुनः गएनन् । त्यसपछि गणपूरक संख्या नपुगेपछि सम्वैधानिक निकायहरुमा रिक्त पद पूर्तिका लागि सरकारले बहुमत सदस्यको उपस्थितिमै बैठक अघि बढ्ने र आवश्यक निर्णय गर्नसक्ने गरी अध्यादेश ल्याएको थियो । सम्वैधानिक पद धारण गरेका व्यक्ति वैठकमा नजानु गम्भीर गल्ती भएको भन्दै कानूनविद्देखि राजनीतिज्ञहरुले समेत सापकोटाको चर्को आलोचना गरेका थिए ।
सापकोटाको मुद्दा प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा परेको छ ।
यसअघि ३० फागुन २०७६ मा यो मुद्दा पेसीमा चढाइएको थियो, तर हेर्न नभ्याएपछि सुनुवाई सरेको थियो । त्यही मुद्दाको पेसी आजका लागि तोकिएको हो ।