काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ ।
स्रोतका अनुसार अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली वैठकमा अनुपस्थित भएपछि अर्का अध्यक्ष पुष्पकमल दाहालले बैठक सुरु गरेका छन् ।
सचिवालय बैठकमा कायमै रहेको आन्तरिक विवाद स्थायी कमिटी बैठकमा सरेपछि दुवै अध्यक्षको प्रस्तावमाथि नेताहरुले धारणा राख्ने कार्यक्रम छ । अध्ययनका लागि स्थायी कमिटीका सदस्यहरुलाई दुवै प्रस्ताव वितरण गरिएको छ ।
आजको स्थायी कमिटी बैठकमा पार्टी भित्र देखिएको विवादबारे छलफल हुने बताइएको छ । संवैधानिक परिषद् सम्बन्धी अध्यादेश बारे पनि वैठकमा छलफल हुन सक्ने बुझिएको छ ।
मंगलबार सरकारले अध्यादेश ल्याएपछि अध्यक्ष दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाी श्रेष्ठबीच हिजो साँझ खुमलटारमा छलफल भएको थियो । उनीहरुको छलफलले अध्यादेश फिर्ता गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
बैठक अगाडि अध्यक्ष ओली र दाहालबीच भेटवार्ता भएको थियो । पार्टीको आन्तरिक विवाद कायमै रहेका बेला दुई अध्यक्षबीचको वार्ता संवादलाई नेताहरुले सकारात्मकरुपमा लिएका छन् । दुई अध्यक्षबीच कुरा मिले पार्टीको आन्तरिक विवाद पनि सकिने उनीहरुको अनुमान छ ।