काठमाडौं । काठमाडौंको चमती जग्गा एकीकरण आयोजनाभित्रको सडकमा कालोपत्रेको सुरुवात गर्दै सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सरकारले राम्रा काम गरिरहेको बताउनु भएको छ । तर जस दिन भने कन्जुस्याइँ भइरहेको उहाँले बताउनु भएको छ ।
जनताको जीवनस्तर उकास्ने गरी सरकारले काम गरिरहेको वताउँदै राज्यमन्त्री मानन्धरले प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा मुलुक समृद्ध हुने बताउनु भएको छ ।
१८ वर्षदेखि हुन नसकेको चमती आयोजनाको सडक कालोपत्रे थालिएको बताउँदै मन्त्री मानन्धरले विकासका काममा जनताको रचनात्मक सहयोगले सरकारलाई थप सक्रिय बनाउने पनि बताउनु भयो ।
काठमाडौं महानगरपालिका र चमतीका बासिन्दाको साझेदारीमा झण्डै १४ सय रोपनी क्षेत्रफलमा जग्गा प्लानिङ गर्ने भन्दै सुरु गरिएको आयोजनाको ढल निर्माण र सडक कालोपत्रे गर्ने काम अन्तिम चरणमा छ ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले चमती आयोजना सम्पन्न हुनेतर्फ अघि बढेको बताउँदै सुन्दर सहर निर्माणको अभियानमा यो आयोजना उदाहरणीय हुने बताउनु भयो ।
कार्यक्रममा काठमाडौं महानगर–१६ का वडाअध्यक्ष मुकुन्द रिजालले आयोजनाको काम सकिएसँगै वडा कार्यालय पनि यही स्थानमा सार्ने बताउनु भएको छ ।