काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सम्वैधानिक परषद् सम्वन्धी अध्यादेश जारी गर्नु भएको छ । सभामुख अग्नी सापकोटा उपस्थित नहुँदा संवैधानिक परिषद् बैठक अवरुद्ध बन्दै गएको बेला सरकारले अध्यादेश ल्याएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपतिबाट जारी अध्यादेशमा संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरिएको छ ।
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले आज बिहान बोलाएको संवैधानिक परिषद्को बैठक सभामुख सापकोटा अनुपस्थित भएपछि स्थगित हुन पुगेको थियो भने हिजो सभामुख सपाकोटासहित काँग्रेस सभापति शेरबहादुर देउवा उपस्थित नभएपछि स्थगित भएको थियो ।
संशोधित अध्यादेशमा के व्यवस्था गरिएको छ भन्ने स्पष्ट नभएपनि परिषद् बैठक बसेर निर्णय गर्न सहज बनाइएको हुन सक्ने अनुमान सहजै गर्न सकिन्छ ।
संशोधनअघिको संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) २०६६ अनुसार परिषद् बैठक आवश्यकता अनुसार अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्ने उल्लेख छ । तर उपदफा २ मा अध्यक्षको निर्देशानुसार सचिवले परिषद्को बैठक बस्ने मिति, समय र स्थान तथा छलफलको विषयसूची सहितको सूचना बैठक बस्नुभन्दा कम्तीमा ४८ घण्टा अगावै सदस्यहरुलाई पठाउनु पर्ने बाध्यकारी व्यवस्था छ ।
साथै कार्यसूचीमा समावेश नभएको कुनै विषयमा छलफल हुन आवश्यक छ भन्ने कुनै सदस्यलाई लागेमा निजले अध्यक्षको अनुमति लिई बैठकमा प्रस्ताव राख्न सक्नेछन् । यो संवैधानिक व्यवस्था अनुसार अध्यक्ष र कम्तीमा चारजना अन्य सदस्यहरु उपस्थित भएमा परिषद्को बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ । यो व्यवस्था अनुसार अहिलेको अवस्थामा अध्यक्षसहित ५ जना नै बैठकमा उपस्थित भएमात्र गणपूरक संख्या पूर्ण भएको मानेर बैठक बस्न सक्ने उल्लेख छ ।
कार्यविधिको उपदफा (५) मा परिषद्ले कुनैपनि निर्णय गर्दा सर्वसम्मति कायम हुन नसके सो विषयमा निर्णय हुन नसक्ने स्पस्ट उल्लेख छ । साथै ‘उपदफा (६) बमोजिम निर्णय हुन नसकेको विषयमा निर्णय गर्न अध्यक्षले पुनः अर्को बैठक बोलाउन लगाउनेछन् र त्यस्तो बैठकको सहमतिले सो विषयमा निर्णय गरिनेछ तर त्यस्तो बैठकमा पनि सहमतिबाट निर्णय हुन नसकेमा परिषद्का सम्पूर्ण सदस्यको बहुमतबाट निर्णय गरिनेछ,’ भन्ने उल्लेख छ ।
अध्यादेश जारी गर्ने निर्णयपछि प्रधानमन्त्रीले आजै साँझ ५ बजे संवैधानिक परिषद् बैठक बोलाउनु भएको छ । अध्यादेश जारी भएपछि विपक्षी दलका नेता शेरवहादुर देउवा बैठकमा जाने नजाने टुंगो लागेको छैन ।