काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशभर प्रदर्शन गरेको छ । सरकार भ्रष्ट्राचार, कुशासन र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै कांग्रेसले सरकारविरुद्ध देशव्यापी विरोध प्रदर्शन गरेको हो ।
कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारकै कारण सडकमा ‘राजा आऊ देश बचाऊ’ को नारा लागेको आरोप लगाएका छन् ।
हेटौंडामा आयोजित विरोध सभालाई सम्बोधन गर्दै देउवाले ‘सडकमा राजा आउ देश वचाउ’ नारा सुनिएको बताउँदै राजतन्त्र फर्किने कल्पना नगर्न चेतावनी दिएका छन् ।
प्रजातन्त्रको खिलाप जानुहुन्न भन्दा तत्कालिन राजाले आफूलाई थुनेको स्मरण गर्दै सभापति देउवाले राजाले प्रजातन्त्रलाई नसहेका कारण आफूहरु गणतन्त्रको पक्षमा उभिनु परेको स्पष्ट पारेका छन् ।
तत्कालीन एमाले र माओवादीबीच एकता भएपछि आफूले कम्युनिस्टहरुले चुनाव जिते भने हाँस्न र रुन पनि पाउने छैन भनेको स्मरण गर्दै देउवाले ‘आज कोही रोयो भने किन रोइस् भनेर जेल हाल्न बेर छैन ।’ भन्दै व्यंग्य गरेका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले कोरोनाको जोखिम रहेको बेला जनता भेला गर्ने, दुःख दिन चाहना नभएपनि बाध्यताका कारण विरोधसभा गर्नु परेको बताएका छन् ।