काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक पार्टी कार्यालय धुम्बाराहीमा शुरु भएको छ । संक्रमणको जोखिम र स्वास्थ्य सुरक्षाका कारण अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली वैठकमा सहभागी नभएपछि अर्का अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बैठक शुरु भएको छ ।
आज वैठकमा दुवै अध्यक्षहरुले यसअघि सचिवालय वैठकमा पेश गरेका प्रस्तावहरु स्थायी कमिटीका सदस्यहरुलाई वितरण गरिने बताइएको छ । सो प्रतिवेदन केही दिन अध्ययन गर्न दिएपछि सदस्यहरुले आफ्नो धारणा राख्ने बताइएको छ ।
करिब तीन महिनापछि बसेको स्थायी कमिटी बैठकमा दुवै जना अध्यक्षका प्रतिवेदनमाथि छलफल हुने र पछिल्लो समय पार्टीमा बढेको विवाद समाधान गर्ने अपेक्षा नेता, कार्यकर्ता गरेका छन् ।
पार्टीभित्रको विवाद सचिवालयले टुंगो लगाउन नसकेपछि स्थायी कमिटीमा लगिएको हो । स्थायी कमिटीले पनि टुंगो लगाउन नसके यही मंसिर २५ गते बोलाइएको केन्द्रीय कमिटीमा छलफल गरिने बताइएको छ ।