काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज पार्टी कार्यालय धुम्बाराहीमा बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’का अलग–अलग प्रस्ताव पेश हुने बताइएको छ ।
हिजो बसेको सचिवालय बैठकमा सहमति नजुटेपछि दुवै प्रस्ताव स्थायी कमिटीमा लैजाने निर्णय भएको थियो । गत भदौ २६ गते बसेको स्थायी कमिटीको बैठकले पार्टीभित्रको विवाद मिलाएको थियो । तर, त्यो लामो समय टिक्न सकेन । स्थायी कमिटीको बैठकले समस्या समाधान गर्न सक्नेमा धेरैले आशंका गरेका छन् । स्थायी कमिटीको बैठकमा सदस्यहरुलाई दुई अध्यक्षका प्रस्ताव वितरण गर्ने र केही दिनका लागि पढ्न समय दिने भएकाले बैठक केही दिन लम्बिने देखिएको छ ।
तर स्थायी कमिटीले केन्द्रीय कमिटीलाई विवाद मिलाउने जिम्मा दिने अवस्था आउन सक्ने एक नेताले बताएका छन् ।