काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक शनिबार बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यव्यस्तताका कारण उपस्थित नभएपछि वैठक केही बसेर स्थगित भएको हो । अर्को बैठक मंसिर २० गते बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीको समय नमिल्ने कुरा हिजो नै जानकारी गराएको बताएका छन् ।
अध्यक्ष ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालको प्रस्ताव अराजनीतिक, झुठको पुलिन्दा र आरोपपत्र मात्र भएकाले फिर्ता हुनुपर्ने माग राख्दै आउनुभएको छ ।
अध्यक्ष प्रचण्डले आफ्नो प्रस्ताव फिर्ता लिने कुनै संकेत नगर्नु भएपछि त्यसमाथि छलफल हुने नहुने अन्यौल बढेको छ । सचिवालय बैठकमा नेताहरुले छलफल र संवादबाटै सो विवादको निक्र्यौल गर्नुपर्ने सुझाव दिनुभएको छ । त्यस्तै आजको बैठक स्थगित भएसँगै भोलिका लागि तय भएको स्थायी कमिटी बैठक पनि सरेको छ । स्थायी कमिटी बैठक मंसिर २१ मा बस्ने प्रवक्ता श्रेष्ठले बताउनु भएको छ ।