काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरी तीनपछि रिहा गरेको छ । तनहुँमा उनीमाथि दुर्व्यवहार र गिरफ्तार गरिएको भन्दै नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।
सभापति शेरबहादुर देउवाले आज एक विज्ञप्ति प्रकाशित गरी सो घटनालाई निन्दनीय भन्दै सरकारको प्रवृत्ति विरुद्ध देशब्यापी प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।
तनहुँ जिल्लाको ब्यास नगरपालिकाको वडा नं १ र ११ जोड्ने बुल्दी खोलामा निर्मित पुल उद्घाटन गर्न गएका नेता पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको पौडेलले फेसबुकमार्फत जानकारी गराएका थिए ।
पुल उद्घाटन गर्ने क्रममा सत्तारुढ नेकपाका कार्यकर्ताहरुले अवरोध गर्ने प्रयास गर्दा भएको झडपपछि नेता पौडेल र कांग्रेस तनहुँका कार्यबहाक सभापति जीतप्रकाश आलेलाई नियन्त्रणमा लिएको थियो । तनहुँमा अहिले निषेधाज्ञा जारी गरिएको छ।
सभापति देउवाद्वारा जारी विज्ञप्तिमा ‘वर्तमान सरकारको अधिनायकवादी आकांक्षाको जगमा भएको यो घटना प्रति कडा विरोध प्रकट गर्दै अधिनायकवादी अभिस्टलाई पूरा हुन नदिन नेपाली कांग्रेस एक ढिक्का भएर शसक्त प्रतिरोध गर्ने चेतावनी दिन चाहन्छु’ भनिएको छ।
उता प्रहरीले पौडेललाई गिरफ्तार होइन, सुरक्षा दिएको दावी गरेको छ ।
यसैवीच कांग्रेसका सभापति देउवाले पार्टीका वरिष्ठ नेता पौडेलमाथि भएको धरपकडलाई लिएर प्रधानमन्त्रीलाई फोन गरेका छन् ।
देउवाले प्रधानमन्त्रीलाई फोन गरी नेता पौडेललाई किन पक्राउ गरेको भनेर प्रश्न गरेको बताइएको छ । सभापति देउवाले वरिष्ठ नेता पौडेललाई तत्काल रिहा गर्न समेत माग समेत गरेका थिए ।
जवाफमा प्रधानमन्त्रीले नेता पौडेलकै शान्ति सुरक्षाका लागि प्रहरीले सुरक्षित स्थलमा लगेको जानकारी दिएका थिए ।