काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बसेको सचिवालय वैठकमा अध्यक्षद्वयको प्रस्तावमाथि छलफल शुरु भएको छ ।
अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले पेश गरेको छुट्टाछुट्टै प्रस्तावमा केन्द्रित भएर छलफल शुरु भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा बसेको वैठक भोलि पुनः १ बजे बस्ने गरी टुंगिएको बताइएको छ ।
अध्यक्ष दाहालले कात्तिक २८ गते प्रस्ताव पेश गरेको प्रस्तावको जवाफसहितको प्रस्ताव प्रधानमन्त्री तथा अध्यक्ष ओलीबाट मंसिर १३ गते पेश भएको थियो । आजको बैठकमा दुई अध्यक्षले मौखिक रुपमा आफ्नो धारणा राखेपछि सचिवालयका केही सदस्यहरुले पनि धारणा राखेका थिए । बोल्नेक्रम जारी रहेकाले बुधबार पुनः १ बजे बालुवाटारमा बस्नेगरी आजको बैठक सम्पन्न भएको प्रवक्ता श्रेष्ठले बताएका छन् ।
मंसिर १८ गते स्थायी कमिटी बैठक बोलाइएकाले बुधबार नै सचिवालय बैठक राखिएको प्रवक्ता श्रेष्ठले बताएका छन् ।