काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । यसअघि पार्टी कार्यालय धुम्बाराहीमा वैठक बस्ने भनिएको थियो । तर धुम्वाराहीमा सुरक्षा थ्रेट हुने गृहको रिर्पोटिङ रहेको भन्दै बालुवाटारमै बैठक बोलाइएको स्रोतको दाबी छ । आजको बैठकमा प्रधानमन्त्री समेत रहनुभएका पार्टी अध्यक्ष केपी शर्मा ओलीले यसअघिको बैठकमा पेश गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने कार्यक्रम रहेको बताइएको छ ।
मंसिर १३ गतेको बैठकमा प्रस्तुत प्रस्तावको अध्ययन गरी आवश्यक छलफल तथा गृहकार्य समेत गरेर आज बस्ने बैठकमा छलफल हुने बताइएको छ ।
यसअघिको बैठकमा प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ दिनुहुँदै कात्तिक २८ गतेको सचिवालय बैठकमा दाहालले प्रस्तुत गरेको प्रस्ताव अस्वीकार गर्दै फिर्ता लिन आग्रह गर्नुभएको थियो ।
उता पुष्पकमल दाहाल पक्षका सचिलवालय सदस्यहरुले अघिल्लो वैठकमा अध्यक्ष ओलीले पेश गर्नुभएको प्रतिउत्तरको सामुहिक रुपमा लिखित जवाफ दिने तयारी गरेको बुझिएको छ ।
दोस्रो तहका नेताहरुले पनि दुवै अध्यक्षले पेश गरेको प्रस्ताव फिर्ता लिएर नयाँ सहमतिका साथ अघि बढ्नु पर्ने वताउँदै आएका छन् ।