काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा आउनुभएका चिनियाँ स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्हेले बालुवाटारमा साँझ शिष्टाचार भेट गर्नुभएको छ । उहाँ आजै नेपालको एक दिने भ्रमणका लागि काठमाडौं आउनु भएको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेपनि चिनियाँ रक्षामन्त्री आजै फर्किने कार्यक्रम छ । पोलिटव्यूरो भन्दा शक्तिशाली मानिने स्टेट काउन्सिलर समेत रहेका वेई फेङहेको नेपाल यात्रा एक दिने भएपनि महत्वपूर्ण मानिएको छ ।
गत वर्षको अक्टोबरमा चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको भ्रमण गरेयता चीनबाट नेपाल भ्रमण गर्ने उनी चीनका उच्च प्रतिनिधि हुन । पछिल्लोपटक चिनियाँ रक्षामन्त्रीले सन् २०१७ मा नेपालको भ्रमण गरेका थिए । त्यसपछि नेपालको तर्फबाट दुईपटक रक्षामन्त्री र सेनापतिले छुट्टाछुट्टै चीनको भ्रमण गरेका थिए । यस हिसावले चिनियाँ रक्षामन्त्रीको भ्रमण नियमित हो ।
चीनको केन्द्रीय सैन्य आयोगको प्रमुख राष्ट्रपति नै हुने भएकाले राष्ट्रपति र रक्षामन्त्रीको प्रगाढ सम्वन्ध रहने गरेको पाइन्छ । राष्ट्रपति सी का अत्यन्त प्रिय मानिएका रक्षामन्त्री वेइ फेङहे चिनियाँ राष्ट्रपतिको ‘कोर टिम’ भित्रका व्यक्ति मानिन्छन् ।