काठमाडौँ । जनगणतन्त्र चीनका राज्यपरिषद् सदस्य एवं रक्षामन्त्री वेइ फेङ्हो नेपालको एक दिवसीय औपचारिक भ्रमणका लागि काठमाडौँ आइपुगेका छन् ।
वेईसहितको प्रतिनिधिमण्डल चढेको बोइङ ७३७ बिमान बिहान १० बजेर ३५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । उनलाई गृहमन्त्री रामबहादुर थापाले स्वागत गरेका छन् ।
भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । त्यस्तै प्रधान सेनापति पूर्णचन्द्र थापाले पनि उनीसँग द्विपक्षीय भेटवार्ता गर्ने बताइएको छ ।
रक्षामन्त्री फेङ्हो आज साँझ नै स्वदेश फर्किने जानकारी दिइएको छ । नेपालको उत्तरी छिमेकी चीनबाट यस वर्ष हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।