काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीबाट थलिएको अर्थतन्त्रलाई उकास्न सरकार र निजी क्षेत्र मिलेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभालाई आज बालुवाटारमा सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले महामारीको कारणले अर्थतन्त्रमा परेको प्रभावलाई कसरी छुटाउने र त्यसबाट कसरी रिकभर गर्ने भन्ने विषयमा केन्द्रित हुनुपरेको बताउनुभएको छ ।
सबैको साझा प्रयासबाट अर्थतन्त्रलाई पुरानै गतिमा फर्काउन सम्भव रहेको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अर्थतन्त्रलाई पहिले जुन गति दिन खोजेका थियौं, त्यस गतिमा फेरि कसरी फर्काउने र अगाडि बढाउने भन्ने प्रश्न अगाडि आएको छ । त्यसमा तपाईहरु सवैले आफ्नो क्षेत्रबाट सहयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।’
कोभिड १९ को भ्याक्सिन धेरै देशले पत्ता लगएकोमा खुसी व्यक्त गर्दे प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘धेरै देशले कोरोना भाइरसबिरुद्धको भ्याक्सिन पत्ता लगाएका छन, त्यो भ्याक्सिनले मानव जातिलाई यस महामारीबाट मुक्त गराउने विश्वास लिइएको छ ।’
संक्रमणबाट जोगिन सजिलो नभएको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो “आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै गर्दा पनि संक्रमण रोकिएको छैन। जे होस् यसका विरूद्ध हामी साझा रूपमा लड्न आवश्यक छ।”