काठमाडौं । भारतीय विदेशसचिव हर्षवर्द्धन श्रृंगला दुई दिने नेपाल भ्रमणका लागि आज विहान काठमाडौं आइपुगेका छन् ।
परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणमा औपचारिक भ्रमणमा आएका चार्टर्ड विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन ।
विदेश सचिव नियु्क्त भएपछि पहिलो नेपाल भ्रमणमा आएका उनले आजैबाट उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीलगायतलाई उनले आजै भेट्ने बताइएको छ । त्यसअघि परराष्ट्र सचिवले दुईपक्षीय विषयहरुमा वार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ ।
विदेश सचिवको भ्रमणबाट लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको आफ्नो भूभागलाई समेटेर नेपालले नयाँ राजनीतिक एवं प्रशासनिक नक्शा प्रकाशन गरेपछि केही चिसिएको नेपाल–भारत सम्बन्ध पुनः हार्दिकतातर्फ फर्कने अपेक्षा दुवै देशका नागरिकले गरेका छन् ।
सामारिक महत्वको नेपाली भूमि कालापानी क्षेत्रलाई छ दशकदेखि आफ्नो स्वामित्व दावी गर्दै आएको भारतले गत वर्ष नेपालको भूभागलाई समेटेर एकतर्फी रुपमा नयाँ नक्शा जारी गर्नाका साथै नेपालको भूमि लिपुलेक भएर तिब्बतको कैलाश मानसरोवर पुग्ने बाटो निर्माण र उद्घाटन नै गरेपछि नेपालले पनि आफ्नो राजनीतिक एवं प्रशासनिक नक्शा अद्यावधिक गरेको वास्तविकताप्रति दुवै देशका जनता अनभिज्ञ छैनन् ।
आकार र आर्थिक सामथ्र्यका आधारमा विश्वमानचित्रमा सानो भए पनि ओजपूर्ण अस्तित्वलाई अक्षुण्ण राख्दै सार्वभौमसत्तासम्पन्न स्वतन्त्र राष्ट्रका रुपमा स्थापित नेपालले भारतसँगका सबै समस्या वार्ता, संवाद र सहमतिका आधारमा समाधान गर्नुपर्ने मान्यतालाई अङ्गीकार गर्र्दै तदनुरुप नै हुनुपर्ने अभिमत सार्वजनिकरुपमा प्रकट गर्दै आएको छ । कोभिड–१९ तथा अन्य कारणले करीब एक वर्ष टुटेको नेपाल र भारतबीचको औपचारिक कूटनीतिक संवादलाई पाका कूटनीतिक व्यक्तित्व हर्षबर्धन शृङ्गलाको दुईदिने नेपाल भ्रमणले गतिशील तुल्याउने तथा शताब्दीऔं पुरानो द्विपक्षीय सम्बन्धलाई पुरानै लयमा फर्काउने विश्वास गरिएको छ ।
शान्ति, मैत्री, भ्रातृत्व, सहकार्य र साझेदारीमा आधारित नेपाल–भारत सम्बन्धलाई थप सहयोगात्मक बनाउँदै यसलाई दुवै देशका जनताको बृहत्तर हितमा केन्द्रित गर्नुपर्नेमा कूटनीतिक क्षेत्रका जानकारले जोड दिँदै आएका छन् । भारतीय पक्षले पनि पारस्परिक सहयोगलाई अझ सुदृढ तुल्याउँदै भारत–नेपाल सम्बन्ध अझ उन्नत होस् भन्ने चाहना सार्वजनिक रुपमा नै व्यक्त गरेको छ ।
दुवै देशका सचिवबीच हुने प्रतिनिधिमण्डलस्तरीय वार्तामा नेपाल–भारत बहुआयमिक सम्बन्धका समग्र पक्षमा गहन छलफल हुनेछ । राजनीतिक सम्बन्ध, सिमाना र सुरक्षा, आर्थिक सहयोग एवं पूर्वाधार, व्यापार तथा पारवहन, ऊर्जा र जलस्रोत, संस्कृति र शिक्षा, प्रबुद्ध व्यक्ति समूह (इपिजी)को प्रतिवेदनलगायत विषयमा विचारविमर्श हुने परराष्ट्र मन्त्रालयका एक अधिकारी बताउँछन् ।
दुई देशका परराष्ट्रमन्त्रीको सहअध्यक्षतामा हुने नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा भागलिन मन्त्री ज्ञवालीलाई आमन्त्रण गर्नु पनि सचिव शृङ्गलाको भ्रमणको अर्को उद्देश्य हो । भारतमा विदेश मन्त्रालयमा कार्यभार सम्हाल्नेबित्तिकै सचिवले छिमेकी मुलुकको परिचयात्मक भ्रमण गर्ने र ती देशको वास्तविक वस्तुस्थिति बुझ्ने प्रचलनकै निरन्तरताका रुपमा पनि यो भ्रमणलाई लिन सकिन्छ ।
भारत –नेपाल सम्बन्धमा एउटा नयाँ अध्याय आरम्भ गर्ने अभिभाराका साथ हुन लागेको शृङ्गलाको भ्रमणले भारत–नेपाल सम्बन्धको मर्म बुझेर दुई राष्ट्रबीच फेरि प्रगाढ आत्मीयताको ज्योति छर्ने आशा दुवै देशमा जनताले गरेको इपिजीका भारततर्फका सदस्य प्रा महेन्द्र पी लामाको सार्वजनिक अभिव्यक्ति सत्य सावित हुने अपेक्षा गरिएको छ ।