आज यस अत्यन्तै दुर्गम ठाउँमा नै भनाँै, ताप्लेजुङको यस घुन्सामा आउने मौका मिल्यो । धेरै मिहिनेत र कोसिस गरेर नै हामीले यो अवसर जुटायौँ । यस ठाउँमा आइपुग्दा मलाई हिमाल चढ्न त गाह्रो छ तर हिमाल देखिएको छ, यो देख्दा नै आनन्द लागेको छ । यो ठाउँ यत्तिको विकसित भएको पाउँदा मलाई एकदमै खुसी लाग्यो । घुन्सा फाउन्डेसनका अध्यक्ष याङजोङ शेर्पाको पहलमा स्वास्थ्य चौकी पनि निर्माण भएको छ । अनलाइन क्लास चलाउने भवन पनि निर्माण भएको छ । त्यसैगरी यहाँ विद्युत् पनि आएको छ । खानेपानीको व्यवस्था पनि यहाँ भएको छ । सञ्चार सुविधा आइसकेको छ । अनलाइन क्लास चल्नेसमेत स्थिति भएको छ । टुजी सेवालाई छिट्टै फोरजी सेवामा स्तरोन्नति गरी सञ्चालन गर्ने साथीहरूले भन्नुभएको छ । जेहोस् फोरजी सेवा पनि सञ्चालन हुँदैछ । अब यहाँ मोटरेवल बाटोले जोड्ने कार्य भइरहेको छ । चीनतिर पनि बाटो खुलिसकेको छ । यता हाम्रोपट्टि पनि ट्र्याक खोल्न छ किलोमिटर मात्रै बाँकी छ, अरू खुलिसकेको छ । यसलाई स्तरोन्नति गर्ने, ग्राभेल गर्ने र कालोपत्रे गर्ने काम तीन वर्षभित्रै सकिन्छ । त्यसपछि ब्ल्याकड्रप (कालोपत्रे) गर्ने काम हुन्छ । तीन वर्षभित्र यी सुगम ठाउँ हुन्छन् ।
म तपाईंहरूसँग खुसी व्यक्त गर्न चाहन्छु । यति दुर्गम ठाउँमा अब यहाँ सञ्चार सेवा आइपुगेको छ । विद्युत् सेवा आइसकेको छ । आधारभूत विद्यालय छ र यहाँ बिरामीले उपचार पाउने स्थिति बनेको छ । स्वाभाविक रूपमा यहाँ प्राथमिक खालकै उपचार सेवा प्राप्त हुने हो किनभने यहाँ सुविधासम्पन्न उपचार हुने त होइन तर पनि केही नभएको यस ठाउँमा यस स्तरको व्यवस्था गरिएको पाउँदा अत्यन्त खुसी लागेको छ । यहाँ आयोडिनयुक्त नुन नहुँदाखेरी समस्या रहेका छन्, त्यसलाई ध्यानमा राखेर अब आयोडिनयुक्त नुन उपलब्ध गर्ने व्यवस्था हुँदैछ । त्यसले विभिन्न स्वास्थ्य समस्यालाई ठीक गर्छ । भर्खरै मलाई मेरी श्रीमतीले विद्यालयमा छात्रावृत्तिका लागि पाँच लाख रुपियाँ सहयोग गर्ने भनेर भनेकी छन् । उत्कृष्ट, गरिब, जेहेन्दार विद्यार्थीले त्यसबाट छात्रवृत्ति पाउन सक्ून् । यसबाट पाँच जना बालिका र पाँच जना बालक गरी १० जनालाई छात्रवृत्ति दिन सकिन्छ । यो व्यवस्था विद्यालयले मिलाउने काम गरोस् । विद्यालयका पुराना शिक्षक लोकथान प्रसाईं, एलसी गुरुङलाई मैले यहाँ देखिराखेको थिएँ । तपाईंहरू पुराना शिक्षक हुनुहुन्छ । तपाईंहरूले त्यसको समुचित प्रबन्ध गर्नुहुनेछ भन्ने मैले ठानेको छु । हामीले यहाँ अस्पताल हे¥यौँ, कम्बल रहेनछ । त्यसकारण १० वटा कम्बल उपलब्ध गराउने भनेर मेरी श्रीमतीले भनिदिनू भनेकी छन् । १० वटा ब्ल्याङ्केट यहाँ उपलब्ध गराइनेछ । यी त ससाना कुरा भए । व्यक्तिगत रूपमा उनले गर्ने कुरा मात्रै भए ।
तर सरकारका तर्फबाट गर्ने कामको हकमा, मुख्य रूपमा यहाँ बाटो र विद्युत्को स्तरोन्नति गर्ने माग साथीहरूले यहाँ ज्ञापन पत्रमा राख्नुभएको छ र नियन्त्रित क्षेत्र हटाउनु पर्ने कुरा राख्नुभएको छ र यसले पर्यटनका लागि सजिलो बनाउने छ । रेस्टिक्टेड एरिया भनेर मान्छे आवतजावत गर्न नदिने खालको स्थिति जुन छ, यसलाई हटाएर यस क्षेत्रलाई एउटा पर्यटकीय आकर्षणको विशेष क्षेत्र बनाउनुपरेको छ । जब यो बेसक्याम्प जाने बाटोका रूपमा छ भने यसलाई पर्यटकीय गतिविधि निर्वाध रूपमा गर्न नदिनु पर्ने वा रेस्टिक्टेड एरिया बनाउनुपर्ने त्यस्तो धेरै आवश्यकता छ जस्तो लाग्दैन । यस सम्बन्धमा पर्यटन मन्त्री यहीँ हुनुहुन्छ, उहाँले प्रस्ताव बनाएर अगाडि बढाउनु हुनेछ र मन्त्रिपरिषद्ले यस सम्बन्धमा आवश्यक निर्णय गरेर यहाँको आवागमन सहज बनाउने, यहाँ हेलिकप्टर आदि आउने कुरालाई पनि सहज बनाउने र पर्यटक आउने कुरालाई पनि सहज बनाउने काम गरिने छ । ती काम हामी छिट्टै गर्छौं । अहिलेको समयमा धेरै कुरालाई रेस्टिक्टेड गरिरहनु पर्ने वा नियन्त्रित गरिराख्नु पर्ने जरुरी छैन । पहिले हामीसँग बीओपी थिएनन्, सुरक्षा निकायको उपस्थिति थिएन । त्यस्तो बेलामा रेस्टिक्टेड गरिएको थियो होला तर अहिले जब हामीसँग सुरक्षा निकाय छ, बीओपीहरू छन्, अरू सुरक्षा निकाय छन् भने अत्यावश्यक सुरक्षा र निगरानी हुन्छ, बोर्डर निगरानी हुन्छ र आवागमनको निगरानी पनि हुन्छ । को पस्छ, कस्तो खालको मान्छे प्रवेश गर्छ, को घुम्न आएको छ ? र त्यसको जानकारी पनि हुन्छ । त्यसकारण अहिले रेस्टिक्टेड एरिया बनाइरहनु पर्ने आवश्यकता खासै पर्दैन ।
यहाँ साथीहरूले राख्नुभएका मागको सन्दर्भमा तिपताला नाका खोल्न आवश्यक प्रक्रिया अघि बढाइदिन भन्नुभएको छ । यो कुरा मैले अघि नै भनेँ, यसमा हामीले ध्यान दिने नै छौँ । उत्तर–दक्षिण लोकमार्गलाई कालोपत्रेमा परिणत गरिदिन आग्रह गर्नुभएको छ । त्यो पनि प्रक्रियामै छ । त्यो हुने नै छ । गाउँपालिकामा रहेका एनटीसी टुजी टावरलाई फोरजीमा परिणत गरिदिन भन्नुभएको छ, त्यस सम्बन्धमा पनि काम अगाडि बढिराखेको छ । कञ्चनजङ्घा बेसक्याम्पको दक्षिणी र उत्तरी मोहडाका क्षेत्रमा अवस्थित पर्यटन पदमार्गमा स्तरोन्नति गरिदिन भन्नुभएको छ । यसलाई पनि ध्यान दिइनेछ । यस पर्यटन पदमार्गलाई कसरी स्तरोन्नति गर्ने ? पहिले मोटरेवल बाटो आयो भने यसको स्तरोन्नति गर्न पनि सजिलो हुन्छ । त्यसकारण मोटरेवल बाटो ल्याउने कुरामा नै हाम्रो पहिलो प्राथमिकता हुनेछ । त्यसले सबै कुरालाई सजिलो बनाउँदै जानेछ । साथीहरूले अर्को माग गर्नुभएको छ, योे स्पेसल परमिटको अनिवार्य खारेज गर्नुप¥यो । यस सम्बन्धमा पनि मैले भनिसकेँ, अबको समयमा यस खालको व्यवस्था धेरै आवश्यक पर्दैन । यसलाई खारेज गर्न सकिन्छ । यो उहिलेको जमानाको कुरा हो । अहिले यस्तो अवस्था आवश्यक छैन । लघु जलविद्युत् आयोजनाको क्षमता वृद्धि गरेर खम्बाचेन, ग्याब्ला र अम्जिलासाजस्ता गाउँमा पनि विस्तार गरिदिन भन्नुभएको छ । यो एकदम स्वाभाविक र आवश्यक कुरा हो । यसमा हाम्रो ध्यान जानेछ । तपाईंहरूले लेखेर दिनुभएका यी माग लगेर सम्बन्धित मन्त्रालय र निकायबाट फरवार्ड गर्ने र के गर्न सकिन्छ ? यो काम हामीले गर्नेछौँ ।
हामी यस घुन्सा गाउँलाई पर्वतीय क्षेत्रको एउटा नमुना गाउँका रूपमा पर्यटकीय, पर्वतीय नमुना गाउँका रूपमा विस्तार गर्ने छौँ । प्रदेश सरकारले यसबारेमा घोषणा गरिसकेको छ । मुख्यमन्त्रीजीले मलाई अघि भन्नुभएको र अस्ति नै याङजुङले पनि भनिसक्नु भएको थियो । यस गाउँलाई एउटा नमुना गाउँका रूपमा विकास गर्ने काम अघि बढिसकेको छ । नमुना गाउँका रूपमा विकास गर्न के के पूर्वाधार चाहिन्छन् अथवा के के आवश्यक काम गर्नुपर्छ, ती कुरा हामीले गर्नेछौँ । यो नमुना गाउँ हुनका लागि अब यस गाउँमा पढ्न नपाएर कोेही निरक्षर भएको वा स्कुल जान नपाएर निरक्षर रहेको स्थितिमा कोही हुनुहुँदैन । कसैले सामान्य, प्रारम्भिक अथवा प्राथमिक स्वास्थ्य उपचार नपाउने खालको स्थिति हुनुहुँदैन वा मैले अघि नै भनेँ, आधारभूत सेवा पुगेको हुनुपर्दछ । यस कुरामा प्रदेश सरकारको ध्यान जाने नै छ र केन्द्र सरकारबाट पनि हामीले उचित ध्यान दिने नै छौँ । घुन्सामा स्थायी स्वास्थ्य चौकी स्थापनाको माग गर्नुभएको छ । यो एउटा स्वास्थ्य चौकी त बनिसकेको नै छ । यसलाई स्तरोन्नति गरेर सबलीकरण गर्दा हुन्छ । यस क्षेत्रको पहिलो बस्ती खम्बाचेनको नापी हुन २०४६ सालमा छुट भएका जग्गाको पुरानो प्रमाणका आधारमा नापजाँच गरी लालपुर्जा उपलब्ध गराउन पनि तपाईंहरूले माग राख्नुभएको छ । त्यसलाई यथाशीघ्र सम्पन्न गराइने छ, म तपाईंहरूलाई आश्वस्त पार्न चाहन्छु ।
अवश्य नै अहिले हाम्रो देश विकासको गतिमा अगाडि बढिरहेको छ । चारैतिर विकासको एउटा लहर नै आएको छ र उत्साह छाएको छ । हामी विभिन्न दुर्गम ठाउँलाई सुगम बनाइरहेका छौँ । टेलिफोनबाट जोडिरहेका छौँ, बाटाबाट जोडिरहेका छौँ, हवाईजहाज सेवाबाट जोडिरहेका छौँ । अरू अनेक हिसाबले जोडिरहेका छौँ र विकासको तीव्र प्रक्रियाले मात्रै देशका सबै कुनाकन्दरालाई जोड्न सक्छ । यी गाउँ केही वर्ष अगाडिसम्म साह्रै नै दुर्गम थिए । अब यी साह्रै दुर्गमबाट अलिक सुगमजस्ता भएका छन् । यहाँ आउनका लागि यस्तो सहज थिएन, अहिले पनि खासै सहज छैन तर पहिलेभन्दा धेरै नै सहज भएको छ ।
म साथीहरूलाई आग्रह गर्न चाहन्छु, हामी उत्साहका साथ देश विकासको काममा लागौँ । यहाँ राजनीतिक पार्टीमा रुचि राख्ने र क्रियाशील साथीहरू पनि हुनुहुन्छ होला । अहिले सरकार चलाइरहेको पार्टीभित्र अनेक प्रकारका, कहिले पार्टी अध्यक्षका विरुद्ध, कहिले प्रधानमन्त्रीका विरुद्ध, कहिले लिखित र कहिले छापेर त्यस्ता सामग्री वितरण गरिएका । सरकार ढलिहाल्छजस्ता कुरा तपाईंहरूले सुन्नु भएको हुनसक्छ । केही काम नपाएका मान्छे, देशमा अस्थिरता चाहने मान्छे, देशलाई स्थिरतामा जान नदिन खोज्ने मान्छे र देशको प्रगति हेरेर तर्सिएका मान्छेहरूले यसो गरिरहेका छन् । हामीले देशको भूभाग समेटेर नक्सा छापेका छौँ । सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा अवस्थित लिम्पियाधुरा, लिपुलेक र कालापानीसहित हाम्रो छुटेको जमिन हामीले नक्सामा सामेल गरेका छौँ । संविधान संशोधन गरेर हाम्रो निशान छापमा राखेका छौँ । अहिले केही मान्छेलाई त्यो जमिन फिर्ता आउला कि भन्ने डर छ । अहिलेको यो हल्लाखल्ला अरू केही होइन । यो सरकार रह्यो भने त्यो जमिन फिर्ता ल्याउँछ । त्यो जमिन भरसक फिर्ता आउन नपाओस्, आउन पायो भने अहिलेको सरकार लोकप्रिय हुन्छ भन्ने पिर केहीलाई परेको छ, त्यस्तो चिन्ता केहीलाई छ । आफ्नो उचाइ घट्ने हो कि भन्ने चिन्ता त्यस्ता केहीलाई छ । त्यस्ता मान्छेले नै अनेक प्रकारका दुष्प्रचार गरेर सरकारले केही काम गरेन भन्दै हल्ला चलाउने, केही पनि भएन भन्ने हल्ला चलाउने र सरकार परिवर्तन हुँदैछ भन्ने हल्ला चलाउने र जनताको मनमा देशमै चिन्ता छाउने खालको वातावरण बनाउने काम गरिरहेका छन् । तिनले सुनियोजित रूपमा त्यस प्रकारका काम गरिराखेका छन् तर म तपाईंहरूलाई ढुक्क रहनुहोस् भन्न चाहन्छु । मैले चीनतिरबाट पनि नाकाहरू÷बाटाहरू खोल्ने नीति लिएँ र पहिलोपल्ट सरकारको नेतृत्व गर्दा हामीले चीनसँग यातायात र पारवहन सम्झौता ग¥यौँ, पहिलोपल्ट म प्रधानमन्त्री हुँदा त्यसो ग¥यौँ । नाकाबन्दीविरुद्ध हामी लडेर सामना ग¥यौँ, नाकाबन्दी हामीले खोलायौँ । चीनतिरबाट थुप्रै नाका खोलायौँ । सन्धि–सम्झौता ग¥यौँ र हाम्रो देशको विकासका लागि हाम्रा दुवैतिरका छिमेकीसँग मित्रतापूर्ण सम्बन्ध कायम राख्ने र विकासको कामलाई दुवैतिरको साथ, सहयोग र सहकार्यमा अगाडि बढाउने नीति लियौँ । मान्छेहरूले यो हुन्छ भन्ने विश्वास गरेका थिएनन् तर यो भएपछि केही मान्छे आत्तिए । अहिले पनि तिनीहरू आत्तिएको मात्रै हो । त्यसकारण म तपाईंहरूलाई ढुक्क रहनुहोस् भन्न चाहन्छु ।
नेपालमा लोकतन्त्र, लोकतान्त्रिक प्रणाली, सङ्घीय लोकतान्त्रिक गणतन्त्रका सम्बन्धमा कसैले भ्रम फिजाउनु बेकार छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली हाम्रो संविधानले व्यवस्था गरेको छ । हामीले यो लडेर ल्याएका छौँ । यसको सुदृढीकरणका लागि, यसको सफल प्रयोगका लागि नै हामी काम गर्छौं । तसर्थ, तपाईंहरू ढुक्क भएर विकासका कामलाई साथ दिन लाग्नुहोस् । हामी देश विकासलाई अगाडि बढाउन दत्तचित्त छौँ । मलाई काठमाडौँ मात्रै बसेँ पनि पुग्थ्यो, यहाँ नआए पनि पुग्थ्यो । अस्ति भर्खर म किमाथाङ्का गएँ । बाटो कस्तो बन्दैछ, कसरी बन्दैछ, के हँुदैछ ? चीनसँगको त्यो हाम्रो यस्तो अर्को नाका हो, जो धेरै उचाइमा जानु पर्दैन र थोरै उचाइमा सधैँ चल्न सक्छ । यस्तै २३/२४ सय मिटरको उचाइमा रहेको छ । त्यति कम उचाइको सधैँ चल्ने बाटो किमाथाङ्का करिडर अरुण नदीको किनारैकिनार बनिरहेको छ । हामी तमोर नदीको किनारैकिनार अर्को बाटो पनि खोल्दै छौँ । पश्चिमतिरबाट पनि थुप्रै नाका खोल्दै छौँ । त्यसकारण उत्तरी भेगका गाउँहरू पनि अब दुर्गम होइनन् । चीनदेखि दक्षिणसम्म यी सबै बाटोले जोडिन्छन् र हामी केही वर्षभित्र यी बाटोलाई पक्की बाटोका रूपमा विकास गर्छौं । यसरी देश अब विकासको बाटोमा अघि बढेको छ । तपाईंहरूले बुनेका गलैँचा अब मान्छेले बोकेर होइन, गाडीले बोकेर बजारसम्म पु¥याउनेछ । केही समय मात्रै हामीले यसको प्रतीक्षा गर्नुपर्छ । यसरी काम हुँदै गरेको, निर्माण कार्य ेहुँदै गरेको, बाटाका ट्र्याकहरू खोल्दै गरेको तपार्इंहरूले देख्नुभएको छ । बाटोको स्तरोन्नति गरेको पनि तपाईंहरूले देख्नुभएको छ । मैले धेरै भनिरहनु पर्ला जस्तो लाग्दैन । तपाईंहरू ढुक्क हुनुहोस्, देश अगाडि बढ्छ ।
मैले सरकारलाई गलत बाटोमा जान दिन्न । देशको पक्षमा, जनताको पक्षमा, विकासको पक्षमा, स्थायित्व र स्थिरताको पक्षमा, शान्तिको पक्षमा नै यस देशलाई अगाडि बढाउने काम हुन्छ । त्यसमा नै सरकार दत्तचित्त भएर लागेको छ । म दत्तचित्त भएर लागेको छु । हामी विभिन्न ठाउँमा गएर, विभिन्न ठाउँका अवस्था कस्ता छन्, त्यहाँको विकास कसरी गर्नुपर्छ भनेर हेरिरहेका छौँ । म तपाईंहरूलाई ढुक्क भएर विकास निर्माणको काम र उन्नति प्रगतिको काममा अगाडि बढ्न आग्रह गर्दछु ।
म हाम्रा युवालाई भन्न चाहन्छु, तपाईंहरूले सही बाटो लिनुपर्दछ । विकासको बाटो लिनुपर्दछ । आआफ्नो ठाउँको विकास कसरी गर्ने ? कसरी अगाडि बढाउनु पर्दछ ? एउटा नमुना त हाम्रो याङजुङ शेर्पा नै हुनुहुन्छ, जसले यस दुर्गम ठाउँमा जन्मिएर यस ठाउँको विकासका लागि फाउन्डेसन निर्माण गरेर विभिन्न ढङ्गले काम अगाडि बढाइरहनु भएको छ । मलाई आज अलिक माइत आए जस्तोजस्तो पनि लागिरहेको छ । कोेसेली दिएर पठाउन खोजेको जस्तो देख्छु तर यो फेरिफेरि आइरहोस् भनेर हो कि के हो ? हामीहरूलाई यस्ता कोसेली धेरै नदिए राम्रो हुन्थ्यो ! उता बस्न मन नलागेर फेरिफेरि आइरहुँजस्तो लागिरह्यो भने…! त्यसैले कोसेली अलि धेरै नदिए हुन्थ्यो । म सबै साथीलाई धेरैधेरै शुभकामना भन्न चाहन्छु । तपाईंहरूकोे ल्होसारजस्ता चाडको अवसरमा शुभकामना दिन चाहन्छु । सबै स्वस्थ रहनुहोस्, उन्नति र प्रगति गर्नुहोेस् । बालबालिकाको पढाइ राम्रो होस् । गुरुबा, गुरुआमाले राम्रो पढाउनुहोस् । बालबालिका, साना नानीहरूलाई म आग्रह गर्न चाहन्छु, मिहिनेतसाथ पढेर देशका लागि भविष्यमा केही गर्नुपर्छ । यस्तै दुर्गम ठाउँमा जन्मिएका मान्छेहरू सङ्घर्ष गरेर अगाडि बढेका हुन्छन्, सङ्घर्ष र कठिनाइ बुझेका हुन्छन् र उनीहरूले देश विकास गर्ने कुरामा झन् ठूलो र झन् धेरै योगदान गर्न सक्छन् । कठिनाइको सामना गरेर अगाडि बढ्न सक्छन् । तपाईंहरू सबैलाई म आग्रह गर्न चाहन्छु, अगाडि बढ्ने अठोट गर्नुहोस् । अगाडि बढ््न र देश विकास गर्न सम्भव छ । दुर्गमलाई सुगम बनाउन सकिन्छ । दुर्गमको बेग्लै महìव हुन्छ । यति नजिक हिमाल देखिन्छ, सजिलैसित नजिकैबाट हेर्न सकिन्छ । यो असाधारण सुन्दर कुरा हो । हामीले आवागमनलाई सहज बनायौँ भने यो पर्यटनका लागि धेरै राम्रो ठाउँ हुन्छ । यस निम्ति तपाईंहरूका माग मैले हेरेको छु ।
म सबैलाई धन्यवाद भन्न चाहन्छु । दिन छोटा छन् । तपाईंहरूले डकुमेन्ट्री बनाउँदै हुनुहुन्छ भन्ने मैले थाहा पाएँ, डकुमेन्ट्री राम्रो बनोस् । त्यसले घुन्सालाई चिनाओस् । घुन्सालाई नेपालभरि र विश्वभरि नै प्रचार गरोस् । हामीहरू यहाँको भ्रमणमा आयौँ, घुन्साले प्रचार त पायो नै । अब नेपालभरिका जनताले घुन्साका बारेमा थाहा पाउँछन् । तपाईंहरूको यो सुन्दर मनोरम ठाउँ र यसको प्रचार टेलिभिजन, पत्रपत्रिका र युट्युब सबै सञ्चारमाध्यमले गर्छन् । हो, यो ठाउँ अलिकति दुर्गम ठाउँ हो । यो ठाउँमा आउँदा विकासप्र्रेमी योजनविद् डा. हर्क गुरुङ र नेपालको विकासमा साह्रै रुचि राख्ने फिनल्यान्डका त्यसबेलाका कार्यवाहक राजदूत मुत्सुनेन लगायतका साथीहरूको यहाँ भएको दुर्घटनामा ज्यान गुमेकोे थियो । त्यो अत्यन्तै दुःखको कुरा थियो । यो अलिक जोखिमपूर्ण भूगोल छ । भरसक राम्रो मौसम भएको बेला मात्रै आउने गर्नुपर्छ । बाटो बनेपछि हेलिकप्टरबाट धेरै आइरहनु पर्दैन । मान्छेहरू बाटोबाटै आउन जान सक्छन् र दुर्घटना पनि कम हुने स्थिति बन्छ । मौसमको खराबीका कारणले दुर्घटना कम हुने अवस्था सिर्जना हुन्छ । यस घडीमा खासमा आज घुन्सा आएको बेलामा म डा. हर्क गुरुङ, तत्कालीन वन राज्यमन्त्री गोपाल राई र फिनल्यान्डका हाम्रा मित्र मुत्सुनेन समेतका सबैलाई स्मरण गर्न चाहन्छु, उहाँहरूप्रति श्रद्धासुमन पनि अर्पण गर्न चाहन्छु । यस ठाउँको विकासलाई ध्यानमा राखेर नै उहाँहरू यहाँसम्म आउनुभएको थियो ।
अब मैले धेरै समय नलिऔँ, हामीलाई छिटो फर्किनुपर्ने छ । त्यसकारण म फेरि सबैलाई शुभकामना भन्न चाहन्छु । सबैलाई धेरैधेरै धन्यवाद भन्न चाहन्छु र आफ्नो भनाइ यहीँ टुङ्ग्याउँछु ।
धन्यवाद !
(प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ मङ्सिर ८ गते ताप्लेजुङको घुन्सामा नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन कार्यक्रममा गर्नुभएको सम्बोधन ।)