काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन यही मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ ।
महासंघको ६३ पदमा हुने निर्वाचनमा १२७ जनाको उम्मेदवारी परेको छ । महासंघको निर्वाचन समितिले आज विहान अन्तिम नामावली सार्वजनिक गरेको हो । मुख्य निर्वाचन अधिकृत उमेन्द्र केशरी न्यौपाने, निर्वाचन अधिकृतद्वय लिलामणि पौडेल र रमणकुमार कर्णले उम्मेदवारहरुको सुची सार्वजनिक गरेका हुन । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधानका कारण हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अब अध्यक्ष बन्दैछन् ।
वरिष्ठ उपाध्यक्षलगयातका पदहरुमा चर्को प्रतिस्पर्धा हुने व्यवसायीहरु बताउँछन् । महासंघको केन्द्रीय सदस्यमा दुई उम्मेदवारहरु भने निर्विरोध निर्वाचित भएका छन् । प्रदेश १ का तर्फबाट उम्मेदवारी दिएका राजेन्द्र राउत र द्विराष्ट्रिय उद्योग वाणिज्य संघका तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका सन्दीप अग्रवाल केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका हुन् ।
वरिष्ठ उपाध्यक्षका लागि महासंघका वर्तमान उपाध्यक्षद्वय किशोर प्रधान र चन्द्र ढकाल चुनावी मैदानमा उत्रिएका छन् ।
त्यस्तै वस्तुगत उपाध्यक्षमा वर्तमान उपाध्यक्ष उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ भिड्दैछन् भने एशोसिएट उपाध्यक्षमा रामचन्द्र संघई र शौरभ ज्योति र जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र गुणनिधि तिवारी भिड्दैछन् ।
महासंघकी अध्यक्ष भवानी राणाले सर्वसम्मत नेतृत्व चयनका लागि पहल भइरहेको बताएकी छिन् । तर ढकाल र प्रधान दुवै पछि हट्न तयार देखिदैनन् । जसले गर्दा सर्वसम्मत हुने सम्भावना निकै कम छ ।
कुन पदमा कोसँग को भिड्दैछन् ?