काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले छुट्टै प्रस्ताव ल्याउने भएका छन् । आज बसेको नेकपा सचिवालय बैठकमा अध्यक्ष ओलीले आफूले पनि प्रस्ताव ल्याउने जानकारी दिएका हन् । प्रधानमन्त्री तथा अध्यक्ष ओलीको सो प्रस्तावलाई अर्का अध्यक्ष पुष्पकमल दाहालले गत शुक्रबार पेश गरेको प्रस्तावको काउन्टरका रुपमा हेरिएको छ ।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार अध्यष ओलीले आगामी पुस १३ गते बस्ने सचिवालय बैठकमा आफ्नो प्रस्ताव पेश गर्ने तय भएको छ । सचिवालय बैठकमा यसअघि नै दाहालले पेश गरेको र ओलीले ल्याउने दुबै प्रस्तावमाथि छलफल हुने बताइएको छ ।
शुक्रबारको वैठकमा दाहालले पेश गरेको प्रस्तावमा पार्टीलाई कसरी सुदृढ र जुझारु, सशक्त बनाउने भन्दा पनि अध्यक्ष ओलीको आलोचना मात्रै छ । दाहालको सो प्रस्तावले पार्टीभित्र थप विवदा चर्किएको छ ।
यसैवीच वैठकमा महासचिव विष्णु पौडेलले सचिवालयका सबै सदस्यले सामुहिक राजीनामा दिई दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरणको प्रक्रियामा जान प्रस्ताव गरेका छन् ।
पार्टीभित्रका समस्या समाधान हुनुको सट्टा एकपछि अर्को संकट थपिए गएको वताउँदै महासचिव पौडेलले सचिवालय असफल भएको टिप्पणी गरेका छन् । उनले सबैले सामुहिक राजीनामा दिएर स्थायी कमिटी वैठक वस्नु पर्ने र त्यहिँबाट नयाँ नेतृत्व चयन हुनुपर्ने प्रस्ताव राखेका छन् ।
दाहालले शुक्रबार शुक्रबार पेस गरेको प्रतिवेदन आरोप र लान्छनापत्र भएको टिप्पणी गर्दै अध्यक्ष केपी शर्मा ओलीले त्यसबारे आफू चुप लागेर नबस्ने बताउँदै त्यसको व्यवस्थित र तथ्यगत आधारमा जवाफ दिने वैठकमा बताएका छन् । प्रधानमन्त्री ओलीले दाहालको आरोपको जवाफका लागि १० दिन समय मागेपछि वैठक १३ गते बस्ने भएको बताइएको छ ।
त्यस्तै सचिवालय सदस्य ईश्वर पोखरेलले पनि पार्टीका कार्यकारी अध्यक्ष दाहालले प्रतिवेदनमा उठाएका विषयहरुको बुँदागत रुपमा जवाफ दिने बताएका थिए ।
यस्तै आज बसेको बैठकले आगामी १८ गते स्थायी समिति बैठक बस्ने र १५ गतेका लागि तय भएको केन्द्रीय समिति बैठक २५ गतेका लागि सार्ने निर्णय प्रवक्ता श्रेष्ठले बताएका छन् ।