काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकम दाहालले शुक्रबारको सचिवालय वैठकमा प्रस्तुत गरेको एकल प्रस्तावले पार्टी एकता भंग गर्ने गम्भीर षडययन्त्रका रुपमा अथ्र्याइएको छ ।
पार्टीको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष दाहालले पेश गरेको राजनीतिक प्रस्ताव प्रथम अध्यक्ष केपी शर्मा ओलीविरुद्ध संगीन आरोप भएको टिप्पणी गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् स्थायी समिति सदस्य शंकर पोखरेलले सो प्रस्ताव फिर्ता लिन आग्रह गरेका छन् ।
दाहालले सचिवालयमा राखेको एकल प्रस्तावले पार्टी एकता गंम्भीर मोडमा पुगेको भन्दै पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन् , ‘म कमरेड प्रचण्डलाई पार्टी एकताको रक्षाका लागि वैठकमा प्रस्तुत गरिएको एकल प्रस्ताव फिर्तागरी एकताको मर्म अनुरुप छलफललाई अघि वढाउन हार्दिक अनुरोध गर्दछु । व्यक्तिगत पत्र र संस्थागत प्रस्ताव फरक विषय हो भन्ने सत्य वुझ्न अनुरोध छ ।’
मुख्यमन्त्री पोखरेलले लेखेका छन् “कमरेड प्रचण्डले पार्टी एकताको मर्म र स्थायी कमिटीको निर्णयको भाव विपरित सचिवालय वैठकमा प्रथम अध्यक्षका विरुद्धमा संगिन आरोप सहित एकल प्रस्ताव प्रस्तुत गरेपछि पार्टी एकता गंभीर मोडमा पुगेको अनुभूती सिंगो पार्टी पंक्तिले गरिरहेको छ । म कमरेड प्रचण्डलाई पार्टी एकताको रक्षाका लागि वैठकमा प्रस्तुत गरिएको एकल प्रस्ताव फिर्तागरी एकताको मर्म अनुरुप छलफललाई अघि वढाउन हार्दिक अनुरोध गर्दछु । व्यक्तिगत पत्र र संस्थागत प्रस्ताव फरक विषय हो भन्ने सत्य वुझ्न अनुरोध छ ।”
शुक्रबारको वैठकमा दाहालले लिखित राजनीति प्रस्ताव प्रस्तुत गरेका थिए । आफूले पेश गरेको प्रस्तावमाथि सबै सदस्यले छलफल गरेपछि स्थायी कमिटीमा जाऔं भन्ने दाहालको प्रस्ताव थियो । दाहालको प्रस्तावमा बरिष्ठ नेता माधवकुमार नेपालले पनि समर्थन गरेका थिए ।
तर, प्रधानमन्त्री ओलीले सचिवालयमै छलफल नगरिएको विषय स्थायी कमिटीमा जान नमिल्ने बताएका थिए । उपाध्यक्ष वामदेव गौतमले पनि सचिवालयमै छलफल गर्नुपर्ने बताएका थिए ।
सचिवालयको अर्को वैठक मंसिर ३ गते दिउँसो १ बजे बस्ने बताइएको छ । सो वैठकमा अध्यक्षका पत्र अनि दाहालको लिखित प्रस्तावमाथि छलफल गर्ने बताइएको छ