काठमाडौं । नेपालीहरुको दोश्रो महत्वपूर्ण चाड तिहार अर्थात यमपञ्चक आजबाट घर आँगनमा प्रवेश गरेको छ । तिहार अर्थात यो पर्वलाई यमपञ्चक पनि भनिन्छ । प्रकृतिसँग प्रत्यक्षरुपमा पनि यो पर्व जोडिएको छ ।
सोहीअनुसार यमपञ्चकको पहिलो दिन कागको पुजा गरिन्छ भने दोश्रो दिन कुकुरको पूजा गर्ने परम्परा रहि आएको छ । तेस्रो दिन बिहान गाई र बेलुकी धनकी देबी अर्थात लक्ष्मीको पुजाआजा गरिन्छ र चौथो दिन गोरुको पुजा गर्ने चलन रहेको छ । अनि पाचौं दिन भाईको पुजा अर्थात दिदी बहिनीहरुले आफ्ना दाजुभाईलाई सप्तरङ्गी टीका, मखमली र सयपत्री फूलको माला लगाएर दीर्घायुको कामना गर्दै यमपञ्चकको बिदा गर्ने प्रचलन रहेको छ ।
तर यो वर्ष तिथिमा परेको तलमाथिले गर्दा कुनै दिन खाली र कुनै दिन दुई वटा पूजा परेका छन् । यस वर्ष यमपञ्चक कात्तिक २७ गते आजदेखि शुरु हुँदैछ । आज यमदीप दान शुरु गरिन्छ । कात्तिक २८ गते काग तिहार परेको छ । यसैगरी धनवन्तरि जयन्ती, धन त्रयोदशी र धनतेरस पर्व पनि यसै दिन परेको छ ।
कात्तिक २९ गते बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ । अपराह्न १ः४९ बजेसम्म कार्तिक कृष्ण चतुर्दशी र त्यसपछि औंसी तिथि लाग्ने भएकाले शास्त्रसम्मत रूपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिले जनाएको छ । सायंकालमा औँशी तिथि परेका दिन लक्ष्मीपूजा गर्नुपर्ने शास्त्रीय वचन छ । औँसी तिथिमा गरिने स्नान, दान भने कात्तिक ३० गते बिहान गर्नुपर्नेछ ।
गाई, गोरु पूजा भने कात्तिक ३० गते गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । आइतबार बिहान ११ः२७ बजेसम्म औँसी तिथि छ ।
शास्त्रीय विधिअनुसार भाइपूजा मङ्सिर १ गते मनाइदैछ । यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजे दिएको छ । मङ्सिर १ गते मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत दिइएको छ ।
बिगत बर्षहरुमा जस्तो बजारमा तिहारको कुनै रौनक देखिएको छैन । यसको मुल कारण भनेको कोरोना कहर नै हो । बिगत आठ महिनादेखि मुलकमा प्रवेश गरेको यो महामारीले नेपाललाई मात्र होइन सम्पूर्ण बिश्वलाई नै नराम्ररी प्रभावित पारिरहेको छ । त्यसको असर नेपालमा नपर्ने कुरै भएन । जसका कारण सर्वसाधरण नेपाली जनताहरुले राम्ररी आफ्ना चाडपर्वहरु समेत मनाउन सकेनन र पाएनन ।
तिहारलाई बिशेष गरी फुलहरुको चाडको रुपमा पनि लिइन्छ । मौसम पनि त्यस्तै । जताततै ढकमक्क फुलेको मखमली, गोदावरी र सयपत्री फुलले वातावरण मनोमोहक र आकर्षक देखिएको छ । तर कोरोना महामारीले नेपाल र नेपाली जनतालाई खुशी भन्दा पनि सामाजिक वातावरण धुमिल बनाइदिएको छ । चाहेर पनि सवै जना एकै ठाउँमा भेला भएर, खुशी र हर्षकासाथ पर्व मनाउन सकिने वातावरण बिल्कुलै छैन । करौडौं मुल्यका खाद्य समाग्री, मरमसाला र फुलको व्यापार यही समयमा हुने गरेको भएपनि अहिले अवस्थाा फेरिएको छ ।
बजारमा आम मानिसहरुको चहलपहल र किनमेलमा पनि निक्कै कमी आएको व्यापारीहरु बताउँछन । यस्को मुख्य कारण भनेको आम मानिसहरुमा डर र त्रास कायमै रहनु प्रमुुख कारण हो । सर्वसाधरण नागरिकहरुले वडा दशैं पनि खासै राम्रोसँग मनाउन पाएन । तिहारको हालत पनि यस्तै यस्तै देखिदैछ ।
परम्पारगत रुपमा पनि चाडपर्वहरुमा नेपालीले दिल खोलेर खर्च गर्ने र गर्दै आएका पनि छन । तर यो वर्ष कोरोना महामारीका कारण नै मुलुकको अर्थ व्यवस्था नराम्रो असर पुगेको छ । दैनिक प्रयोगमा आउने समानहरुको उत्पादन हुने कलकारखानाहरु मत्र संचालित छन । यीलगायत अन्य उद्योग, कलकारखानाहरु राम्रोसँग सुचारु हुन सकिरहेको छैन । जसका कारण त्यहाँ कार्यरत मजदुरहरु पनि बेरोजगार बन्न पुगेका छन भने स्कुल, कलेज सुचारु नहुँदा गाउँघर गएकाहरु पनि शहर बजार फर्किन पाएका छैनन । जसले गर्दा यो समयमा बजारमा हुने चहलपहलमा पनि निक्कै कमी आउन सहयोग पुगेको बताइएको छ ।
जनजिवन चलायमानको लागि सामाजिक वातावरण हुन उचित हुन जरुरी हुन्छ । अहिले त्यो वातावरण बिल्कुलै र पटक्कै छैन । बातावरण अनुकुल नहुँदा सर्वसाधरण नागरिकले दैनिक रुपमा काम गरेर साँझ बिहान पेट पाल्न पनि धौ धौ परिहेको अवस्था छ । यस्तो अवस्थामा राम्रोसँग चाडपर्व मनाउने कुरा त्यति संभव पनि छैन । जसका कारण गएको वडा दशैं मात्र होइन नेपालीहरुको घर आँगनमा आइसकेको तिहार, छटपर्व र नेवारी समुदायको महान चाड नेपाल संम्वत पनि खल्लो हुने भएको छ ।