ललितपुर । लेलेका महिलालाई यसवर्ष तिहार खर्च धान्नै मुस्किल परेको छ। लेले डिगाउँकी सरस्वती सिलवालको घरआँगनमा यस वर्ष केही बोटमात्र सयपत्री फुलेका देखिन्छन् ।
विगतका वर्ष खेतबारीमा सयपत्री रोपेर व्यापार गर्ने सरस्वतीले यस वर्ष भने त्यो मिहिनेत ठ्याक्कै खेर फालिन् । पहिले तिहारमा खुब हर्षले विभिन्न प्रकारका फूलहरु उत्पादन गर्ने, माला बनाएर बजार बिक्री-वितरणका लागि लाने गरेको सरस्वतीको भनाइ छ ।
‘यो वर्ष कोरोना महामारीको त्रासले कसरी फूलमाला व्यापार गर्ने भन्ने चिन्तासँगै केही रोप्न मन लागेन,’ सरस्वतीले भनिन् ।
विगतको तिहारमा एक झुप्पामा पाँच वटा माला बनाएर सानो मालाको २५० र ठूलोको ४५० माथि बेच्ने गरेको सुनाइन् ।
गत वर्ष सयपत्रीको मालाबाट २५ हजार कमाएर भाइमसलालगायत आवश्यक सरदम जुटाएको हुँदा यस तिहारमा कसरी खर्च गर्ने भन्ने सरस्वतीमा चिन्ता बढेको छ ।
यसैगरी लेले काभ्रेकी मसिनी पौडेल पनि यस वर्ष तरकारीलगायत फलफूल र सयपत्री फूल उत्पादनमा पछि हटेको देखिन्छ ।
विगत वर्ष लेले भञ्ज्याङ हुँदै डोकाका डोका फूलमाला, तरकारी र अनि फलफूल लगेर बिक्री-वितरण गर्ने मसिनीको खेतबारीमा यस वर्ष आएको कोभिडका कारण बाँझोमात्र देख्न सकिन्छ ।
महामारी बढ्दो छ । कहाँ लगेर बेच्ने भन्ने त्रासका कारण आफ्नो घर सजाउन र कहिलेकाँही खान बाहेकका सामग्री उत्पादनमा ध्यान दिइएन । तरकारी र सयपत्री फूल उत्पादन गर्न त्यसै सजिलो छैन । समय-समयमा गोडमेल, पानी आदि गर्नुपर्छ ।
कोरोना बढेको समयमा घरबाट बाहिर टोलमा निस्किनसमेत डर रहँदा तिहार मान्न मुस्किल हुने भएको मसिनीको उत्तर छ । ‘गत वर्ष सानासाना फूलका गुच्छा बनाएर १० हजार फूलबाट मात्र कमाएको थिएँ। यस वर्ष न बारीमा फूल लगाइयो न दैनिक खान तरकारी नै उत्पादन भयो,’ उनले भनिन् ।
त्यसैगरी लेलेकी सावित्री पौडेलको बारीमा पनि यस तिहारमा बजार लान केही वस्तु रोपिएका छैनन् । कोरोना आयो। बेच्न जान पाइँदैन भनेर आफूले यस वर्ष केही लगाउन पनि मिहिनेत नगरेको सावित्रीको भनाइ छ ।
अघिल्लो वर्ष सयपत्री माला बेचेर मात्रै तिहारमा २५ हजार कमाएको सावित्रीले बताइन् । ‘यसअघिको तिहारमा माला बेचेर आवश्यक सरसामनलगायत देउसी र भैलो खेल्न आउने समेतलाई पैसा दिन अरूसँग हात थाप्नु परेको थिएन । यो वर्ष न कुनै काम भयो न तिहारको उत्साह नै छाएको छ,’ उनले भनिन् ।
ललितपुरको लेले सयपत्री फूललगायत विभिन्न प्रकारका तरकारी र फलफूल उत्पादनका लागि प्रसिद्ध सहर थियो । यो क्षेत्रका जनताले यस वर्ष केही मात्रामा घरायसी प्रयोजनका लागि मात्र यी वस्तु उत्पादन गरेको बताए ।
भौगोलिक हिसाबले डाँडाकाँडा अनि फाँटले भरिएको लेले सहरस्थित काभ्रेका केही फाँटमा मात्रै यस वर्षको तिहारलाई सयपत्री फूल रोपिएका छन् भने अन्य स्थानमा खासै फूल उत्पादन गरिएको देखिएन । विगतका वर्ष तिहारमा लेलेबाट गाडीका गाडी सयपत्रीको फूलमालालगायत फलफूल अनि तरकारी बजार जान्थे। यो वर्ष १० प्रतिशत लेलेको फाँटमा सयपत्री फूल अनि तरकारीसमेत देख्न मुस्किल भएको स्थानीयवासी राजेन्द्र पौडेलको भनाइ छ ।
गत वर्ष तिहारमा फूलमाला व्यापार गरेर लेलेवासीले लगभग ३० देखि ४० लाख भित्र्याएको वडाध्यक्ष मिलन सिलवालले बताए ।
यस वर्ष व्यापार गर्ने माहोल नरहँदा धेरै दाजुभाइ तथा दिदीबहिनीले फूल उत्पादनमा जोड दिएनन् । केही किसानको बारीमा यस तिहारलाई लक्षित गरेर व्यावसायिक रुपमा रोपिएका सयपत्रीसमेत कसरी व्यापार गराउने भन्ने आफूलाई चिन्ता भइरहेको सिलवालको भनाइ छ ।
गोदावरी नगरपालिका-५ र ६ लेले क्षेत्र पर्छ । यो ललितपुर क्षेत्रको सयपत्री फूल उत्पादन हुने मुख्य थलो मानिन्थ्यो । गत वर्षमा लेलेको सयपत्री फूलले चापागाउँ, लगनखेल, जावलाखेल, असनइन्द्रचोक, विशालबजार, दरबारमार्ग, पशुपति अनि गौशाला र चाबहिल क्षेत्रमा खुब भरिभराउ हुन्थे ।
यो तिहारमा लेल मात्रै होइन, बडिखेल, गोदावरी, चापागाउँ, झरुवारासी, गोदामचौर र विशङ्खुलगायत क्षेत्रमा कम सयपत्री फूल उत्पादन गरिएको देखिन्छ । तिहार हिन्दू धर्मावलम्बीहरुको दसैंपछिको ठूलो पर्व हो । यस पर्वमा फूल र फलफूलको ठूलो महत्व रहन्छ । तिहारमा घरघरलगायत कार्यालय, चोक, बजार अनि धार्मिक क्षेत्र दीपावली गरेसँगै फूलमालाले सजाउने पनि गरिन्छ । यस वर्ष कोभिड महामारीका कारण हरेक मानिसले आ-आफ्ना घरबाहेक अन्य स्थानमा आर्थिकका साथै अन्य विभिन्न समस्याका कारण विगत वर्षझै मनाउन सम्भव नरहेको देखिन्छ । रासस