काठमाडौं । पूर्वसांसद एवम् तत्कालीन नेकपा एमालेका केन्द्रीय सदस्य वीरबहादुर लामाको निधन भएको छ ।
नख्खु जेल ‘ब्रेकर’को रुपमा चिनिने लामा मिर्गौलाको रोगबाट पीडित भइ ललितपुरको पाटन अस्पतालमा उपचाररत थिए । उनको आज बिहान ४ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
लामो समयदेखि तत्कालिन नेकपा एमालेबाट राजनीतिमा सक्रिय रहेका लामा २०५६ सालमा मकवानपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।
लामा त्यसअघि २०४९ सालमा मकवानपुर जिल्ला विकास समितिका सभापति भएका थिए । मकवानपुरको फाखेल निवासी लामा २०६४ सालको पहिलो संविधानसभाको चुनावमा भने पराजित भएका थिए ।