काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवासमा भएको भेटमा दुई देशबीचको सम्बन्धका बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
दुई देशका सेना प्रमुखहरुलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच असल मित्रता रहेको र कतिपय विषयमा दुई देशबीच रहेका समस्या संवादमार्फत् समाधान हुने विश्वास व्यक्त गरेको बताइएको छ ।
भेटमा प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराई र परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल नेपालस्थित भारतीय राजदूत विनयमोहन क्वात्रा पनि सहभागीता रहेको थियो ।
नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष नरवणे तीन दिने नेपाल भ्रमण सकेर आजै स्वदेश फर्कदै छन् ।