काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले कुनै पनि हालतमा राजीनामा नदिने बताउनु भएको छ । अहिले आफूले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर धकेल्नु रहेको बताउँदै उहाँले अहिले राजीनामा दिने कुरै नहुने बताउनु भयो । त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफू रहरले प्रधानमन्त्री भएको नभई, जनताका आवश्यकता र समर्थनले भएको बताउनु भयो ।
प्रधानमन्त्री ओलीले आफूलाई हटाउने चलखेल भइरहको बताउँदै यस्ता चलखेलहरु भित्र–बाहिर भइरहने तर अन्तिममा केही नहुने बताउँदै भन्नुभयो ‘देशका लागि म अहिले राजीनामा दिनेवाला छैन ।’
प्रधानन्त्री ओलीले भन्नुभयो ‘म जालझेल गरेर, तिगडम गरेर आएको होइन, जनताको व्यापक समर्थनबाट आएको हुँ, त्यसैले सरकार फेरिन्छ कि, केही हुन्छ कि भन्ने कुराबाट प्रभावित नहुन आग्रह गर्छु ।’
केही दिनअघि पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकता हुँदा गरिएको सहमतिअनुसार साढे दुई वर्ष बितेकाले प्रधानमन्त्री पदबाट राजीनामा दिन आग्रह गरेका थिए।
केहीलाई देशलाई अस्थिरतातिर धकेल्न खोज्ने आदत रहेको र, भित्रबाहिरबाट आफूलाई प्रधानमन्त्रीबाट हटाउने कोशिस भए पनि त्यस्तो प्रयास सफल नहुने पनि उहाँले बताउनु भएको छ ।