काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको कोरोना सङ्क्रमणबाट निधन भएको छ । काठमाडौंको नर्भिक अस्पतालमा उपचारको क्रममा आज बिहान उनको निधन भएको हो ।
दशैंमा पुख्र्यौली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो ।
शरीरमा अक्सिजनको मात्रा एक्कासी घटेपछि र निमोनिया पनि देखिएपछि शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।
नर्भिक हस्पिटलमा पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली र प्रचण्डद्वारा शोक व्यक्त
प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसभामुख महराकी श्रीमती सीताको निधनबाट अत्यन्त दुःख लागेको बताएका छन् । उनले सीताप्रति श्रद्धाञ्जलि अर्पण गर्दै महरा परिवारमा समवेदना व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले ट्वीटरमा लेखेका छन्, ‘प्रतिनिधिसभाका सदस्य एवं पूर्वसभामुख माननीय श्री कृष्णबहादुर महराकी श्रीमती सीता महराको आज बिहान नर्भिक अस्पतालमा भएको निधनबाट अत्यन्त दुःख लागेको छ । म दिवंगत सीता महराप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै पूर्वसभामुख महराजी सहित शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’
त्यस्तै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि सीता महराको निधनबाट आफू मर्माहत भएको बताएका छन् । अध्यक्ष प्रचण्डले आज शोक वक्तव्य जारी गर्दै दिवंगत सीता महराप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनमा समवेदना प्रकट गरेका छन् ।