काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्दै चाडपर्व मनाउन अपिल गरेका छन् ।
बडादशैँका अवसरमा आज शुभकामना दिँदै मन्त्री ढकालले कोरोना महामारीका कारण स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्दै चाडपर्व मनाउनु पर्ने वाध्यात्मक परिस्थिति रहेको बताउँदै कोरोना रोगको रोकथाम तथा नियन्त्रणका लागि मास्कको उचित प्रयोग, भौतिक दुरी कायम र पटक–पटक साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्नु नै उचित उपाय भएको बताएका न् ।
मन्त्री ढकालले भनेका छन् “दशैँ लामो समयदेखि हामीले मनाउँदै आएको एकता र पुनःर्मिलनको चाड हो, आफन्तका बीचमा भेटघाट र शुभकामना आदानप्रदान गरेर अत्यन्तै हार्दिकता र मित्रताका साथ मनाइने आशीर्वाद लिने र दिने मानवीयताको चाड हो । यस्ता चाड मनाइरहँदा विगतमा पनि हामीले स्वास्थ्य, मित्रता र सामाजिक शान्तिलाई ध्यान दिने तथा छिमेकीलाई प्रतिकूल नहुने गरी मनाउने गरेका हौँ । यस पटक कोरोना महामारीका कारण अझै बढी ध्यान दिनुपर्ने देखिएको छ ।”
संविधानमै सुनिश्चित स्वास्थ्यको मौलिक हकको पूर्ण कार्यान्वयनका लागि सरकारले काम गरिरहेको वताउँदै मन्त्री ढकालले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सम्पूर्ण नागरिकको जीवन रक्षाको लागि सदैव प्रतिबद्ध रहेको दोहोर्याएका छन् ।
मन्त्री ढकालले सबै सरकारी, निजी तथा समुदायबाट सञ्चालित अस्पताललाई कोभिड–१९को परीक्षण तथा उपचार र अक्सिजन, आवश्यक औषधि तथा उपकरणको अभाव हुन नदिन मन्त्रालयले ठोस योजनासहित प्रभावकारी व्यवस्था मिलाएको जानकारी पनि बताएका छन् ।
६४९ स्थानीय तहमा ५ बेडको अस्पताल स्थापना गरी सञ्चालनका लागि आवश्यक बजेट व्यवस्था गरी पठाइएको र कुनै पनि अस्पतालको गेटभित्र प्रवेश गरेका बिरामी उपचारबिना फर्कनु नपरोस् भनेर गरीब, विपन्न र अलपत्र व्यक्तिको आकस्मिक उपचार निःशुल्क गर्नेगरी व्यवस्था मिलाइएको मन्त्री ढकालले बताएका छन् ।