काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले दशैं भत्ता वापतको रकम सरकारले स्थापना गरेको कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले पार्टीका सांसदले पाउने दसैं भत्ताको सम्पूर्ण रकम कोरोना कोषमा जम्मा गर्न निर्देशन दिनुभएको हो ।
‘‘दसैं घरपरिवारभित्र मनाउन आग्रह गर्दै संसदीय दलका नेता केपी शर्मा ओलीले पार्टीका सबै सांसदको दसैं भत्ताबापत प्राप्त रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय भएको दलका उपनेता सुवासचन्द्र नेम्वाङले बताउनु भएको छ ।
सत्तारुढ नेकपाका प्रतिनिधिसभामा एक सय ७४ जना र राष्ट्रियसभामा ४६ जनासहित संघीय संसदमा २ सय २० जना सांसद रहेका छन् ।
त्यस्तै नेपाली कांग्रेसले पनि सांसदहरुले पाउने दसैँ भत्ता वापतको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको छ । कांग्रेस पार्टीबाट प्रतिनिधित्व गर्ने सांसदहरुलाई प्राप्त हुने कूल रकम ४३ लाख २० हजार ८ सय १० रुपैयाँ सो कोषमा जम्मा गर्ने निर्णय भएको कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले बताएका छन् ।
सो रकम जनताको उपचारका लागि संघीय संसद सचिवालय मार्फत नेपाल सरकारले स्थापना गरेको “कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष” मा जम्मा गर्ने निर्णय भएको जानकारी सचिवलायलाई गराइएको खाँणले बताएका छन् ।