काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् पूनर्गठन गर्नुभएको छ । राष्ट्रपति भण्डारीले मिति २०७४/११/३ गते गठित मौजुदा मन्त्रिपरिषद् नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पूनर्गठन गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
१२ औं पटक मन्त्रिपरिषद् विस्तार गर्दै रिक्त रहेका अर्थ मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालयमा मन्त्री नियुक्त गर्नुभएको छ भने दुई मन्त्रीको जिम्मेवारी पनि उहाँले हेरफेर गर्नुभएको छ ।
पुनर्गठित मन्त्रिपरिषद्मा रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओलीलाई तोकिएको छ भने यसअघि उपप्रधानसहित रक्षा मन्त्री रहेका इश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी दिइएको छ ।
त्यसैगरी अर्थ मन्त्रालयमा विष्णु पौडेल, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पार्वत गुरुङ, शहरी विकास मन्त्रालयमा कृष्णगोपाल श्रेष्ठ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा लीलानाथ श्रेष्ठ नियुक्त भएका छन् ।
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण भोलि हुने बताइएको छ ।
मन्त्रीहरु नियुक्त गर्नुअघि प्रधानमन्त्री ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालवीच बालुवाटारमा साढे दुई घण्टा लामो छलफल भएको थियो ।