काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच आज बिहान छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालबीच भएको छलफलमा कर्णाली प्रदेशमा पार्टीभित्रको आन्तरिक समस्या समाधान, साँगठनिक प्रक्रियाको बाँकी एकताको काम लगायतका विषयमा छलफल भएको वालुवाटार स्रोतले जनाएको छ ।
दुई अध्यक्षले जारी गरेको आन्तरिक पार्टी निर्देशनमा असोज मसान्तभित्रै सांगठनिक एकताका बाँकी काम टुङ्गो लगाउने प्रतिबद्धता जनाइएको थियो । मसान्त आउन दुई दिन मात्र बाँकी रहँदा दुई अध्यक्षबीच सो विषयमा गृहकार्यका लागि छलफल भएको बताइएको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध पार्टीकै सांसदबाट अविश्वासको प्रस्ताव दर्ता भएपछि देखिएको पार्टीको विवाद व्यवस्थापनमा समेत दुई अध्यक्षबीच छलफल भएको हुनसक्ने नेकपा स्रोतले जनाएको छ ।
गत मंगलबार अध्यक्षद्वय, महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मासहित भएको छलफलमा पार्टीको कर्णाली प्रदेशका पदाधिकारीलाई छलफलका लागि काठमाडौं बोलाइएको पत्र पठाइएको थियो ।
सोही पत्रका आधारमा कर्णाली प्रदेशका पदाधिकारी काठमाडौं आउनेक्रम जारी रहेको र भोलि पार्टी कार्यालय धुम्वाराहीमा उनीहरुसँग छलफल हुने बताइएको छ ।