काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वयबीच आज छलफल भएको छ ।
प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अध्यक्ष पुष्पकमल दाहाल दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए ।
अध्यक्षद्वयको बैठकले भोली मंगलबार अपरान्ह ४ बजे बालुवाटारमा सचिवालय बैठक बोलाउने निर्णय गरेको बताइएको छ ।
यसअघि आइतबार साँझ ४ बजेका लागि सचिवालय बैठक तय गरिएको थियो । प्रधानमन्त्रीको सचिवालयका सदस्यहरुमा कोरोना संक्रमण देखिएपछि बैठक स्थगित गरिएको थियो । आज बसेको दुई अध्यक्षबीचको बैठकले कार्यसूचीको तयारीबारेमा गृहकार्य गरेको बालुवाटार स्रोतले बताएको छ ।
सचिवालय बैठकको चारवटा कार्यसूची यसअघि नै तय भइसकेका छन् । भोलि बस्ने बैठकमा प्रदेश ५ को राजधानी विषयमा भइरहेको आन्दोलनका विषयमा समेत छलफल हुनसक्ने स्रोतले बताएको छ ।