सिन्धुपाल्चोक । लामो समयपछि तातोपानी नाका सोमबारबाट खुलेको छ । सिन्धुपाल्चोक र चीनको तिब्बत न्यालामका अधिकारीबीच असोज १३ गते भएको सहमति अनुसार आजबाट नाका खुलेको हो ।
तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख लालाबहादुर खत्रीका अनुसार चीनको स्वाशासित क्षेत्र खासाबाट छ वटा चिनियाँ मालबाहक कन्टेनरले कपडा र कच्चा पदार्थ मितेरी पुल नजिकै रहेको चाइनातर्फको यार्डमा ल्याइदिएको थियो ।
एक चीनियाँ कन्टेनर बराबर दुई नेपाली कन्टेनर सामान हुने गर्छ । सोही अनुसार १२ कन्टेनर सामान आज नेपाल भित्रिएको बताइएको छ ।
कन्टेनरमा आएको सामान चिनियाँ चालक र मजदुरले मितेरी पुल ल्याईदिएका थिए । उक्त सामान सिन्धुपाल्चोकतर्फका चालक र मजदुरले मितेरी पुल पुगेर तातोपानी सुख्खा बन्दरगाहको माथिल्लो भन्सार कार्यालयमा झारिएको बताइएको छ ।
चीनियाँ र नेपाली चालक र मजदुरको पाँच, पाँच दिनमा कोभिड १९ को परीक्षण हुने गरेको छ । नेपालतर्फ २९ जना चालक र मजदुरको टोली सामान लोड र अनलोड गर्ने प्रबन्ध मिलाइएको छ ।
नेपाल भित्रिएका उक्त सामानलाई मेडिकल प्रोटोकल पूराएर जाँचपास गरि केही दिनभित्र राजधानी पठाइने तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिएका छन् ।
आज बेलुकी खासाबाट फेरि छ कन्टेनर सामानसहित मितेरी पुल आइपुग्ने बताइएको छ । आयात भएपनि निर्यात भने भएको छैन् । तातोपानी नाका असार २५ गतेबाट बन्द थियो । दशैं, तिहार, छठ जस्ता पर्वहरु नजिक आइरहेका बेला नाका नखुल्दा नेपाली व्यापारीहरु चिन्तित थिए ।