काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार तीन अध्यादेश जारी गर्नु भएको छ । तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७७, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७७ र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७७ जारी गर्नु भएको हो ।
एसिड आक्रमण गर्नेमाथि कडा कारबाहि गर्न बनेको तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गर्नुभएको छ ।
नेपालको संविधानको धारा ११४ को उपधारा १ अनुसार राष्ट्रपति भण्डारीले अध्यादेश जारी गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जानकारी दिनुभएको छ ।
सरकारले अध्यादेशमार्फत कानुन संशोधन गरी एसिड आक्रमण गर्नेमाथि २० वर्षसम्म कैद र १० लाख रुपैयाँसम्म जरिबानाको व्यवस्था गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एसिड आक्रमण गर्नेमाथि सजाय बढाउने गरी अध्यादेश ल्याएको थियो । अध्यादेशमा आँखा, कान, मुख, छाती र यौनाङ्गमा एसिड लागेमा २० वर्ष कैद र दश लाख रुपैयाँ जरिबाना हुने व्यवस्था गरिएको छ ।
यस्तै शरीरको कुनै अङ्ग भङ्ग वा शारीरिक क्षति भएमा कसुरको प्रकृतिअनुसार पाँच वर्षदेखि १० वर्षसम्म कैद र एक लाखदेखि पाँच लाखसम्म जरिबाना हुनेछ । यस्तै सरकारले पीडितको निःशुल्क उपचार तथा रोजगारको समेत व्यवस्था गर्ने भएको छ ।


























