काठमाडौं । विगतमा कर्मचारीको सरुवा गर्दा आकर्षक ठाउँका लागि राम्रा भन्दा हाम्रा खोजिन्थ्यो । जसले गर्दा धेरै योग्य कर्मचारीहरु असन्तुष्ट हुन्थे । कतिले त राजीनामा समेत दिन्थे । तर पछिल्लो समय कर्मचारीको सरुवा, वढुवामा निष्पक्ष र पारदर्शी हुन थालेको छ ।
विशेष गरेर भौतिक मन्त्रालय, अर्थमन्त्रालय र भूमी सुधार मन्त्रालयका कर्मचारीको सरुवामा आर्थिक चलेखल र भनसुन हावी हुने गरेको थियो । कर्मचारीको सरुवामा मन्त्री, सांसद, सचिव, नेतादेखि कर्मचारी युनियनलगायतको प्रभाव पर्ने गरेको थियो । तर पछिल्लो समय त्यस्तो कार्य बन्द हुँदै गएको छ । केही दिनअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडक विभाग तथा अन्तर्गतका कार्यालयहरुको प्रमुख सरुवा गरेको थियो । सो सरुवालाई लिएर कतै असुष्टि देखिएको छैन । सरुवा हुने र नहुने कर्मचारीहरु पनि खुशी देखिएका छन् ।
वसन्त कुमार नेम्वाङ्ग भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेपछि सडक डिभिजन, आयोजना र योजना प्रमुखहरुको सरुवामा थप पारदर्शिता अपनाएको पाइएको छ । भौतिक मन्त्रालयले बुधबार सडक विभागअन्तर्गतका ४७ जना सुई, सीडीई र सिनियर इन्जिनियरहरुको सरुवा गरेको थियो । त्यसको विवरण मन्त्रालयको वेबसाइटमार्फत सार्वजनिक गरेको छ ।
‘नेम्वाङ्ग मन्त्री बनेर आउनु अगाडिसम्म सरुवाको पत्र बुझ्न मन्त्रालय जाँदा समेत निर्णय परिवर्तन भयो कि भन्ने डर हुन्थ्यो’, एक सीडीईले भने, ‘अघिल्ला वर्षहरुमा सरुवा भएपछि रातारात मन्त्रालय पुगेर पत्र बुझ्ने हतार हुन्थ्यो । यो पटक त सरुवाको पत्र बुझ्न जानुअगाडि नै मन्त्रालयले वेबसाइटमार्फत सार्वजनिक गरेको छ । अब समय मिलाएर पत्र बुझ्न जाँदा हुन्छ । पत्र बुझ्नुअगाडि नै वेबसाइटमा नाम सार्वजनिक गर्ने व्यवस्थाले सरुवामा चलखेल बन्द भएको र पारदर्शिता देखाएको छ, सवै कर्मचारीका लागि खुशीको कुरा हो ।’
विगतमा सरुवाका पत्र बनेपछि शक्ति र पहुँचको आधारमा परिवर्तन हुने गरेको अनुभव सुनाउँदै ती सीडीई भन्छन्, “ अघिल्लो वर्ष सरुवा गर्दा पनि मन्त्री नेम्वाङ्गले सिनियर र सुगम तथा दुर्गम मिलाउन निर्देशन दिए पनि दुई÷तीन जनाको सरुवामा त्रुटि देखिएको थियो । यसपटक त्यसमा पनि सुधार गरिएको देखिन्छ ।”
केहीको व्यावहारिक कठिनाइ बाहेक यस पटकको सरुवामा अझ व्यवस्थित गरिएको पाइएको अर्का सीडीईले बताएका छन् ।
सरुवाको लागि विगतमा सुई र सीडीईहरुलाई गलत सम्झौता गर्न मन्त्रीले बाध्य पार्ने गरेका घटना भौतिक मन्त्रालयमा प्रशस्त रहेको स्मरण गर्दै एक सुई भन्छन, “हाम्रो मन्त्रालयको जिम्मेवारीमा नेम्वाङ आएपछि त्यस्तो सम्झौता पनि गर्नु परेको छैन, भनसुन र आर्थिक चलखेलका भरमा अयोग्यहरुले मौका पाउने अवस्थाको अन्त्य भएको महसुस हामीले गरेका छौं ।”
को, कहाँ सरुवा ?