काठमाडौं । सत्तारुढ दल नेकपाको आज बसेको सचिवालय बैठकमा संवैधानिक निकायहरूको पूर्णता र मन्त्रिपरिषदु पुनर्गठनका बारे छलफल भएको छ । छलफलमा नेताहरूले आ–आफ्ना सुझाव दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।
सवैधानिक नियुक्तिका बारेमा संविधान र कानुनको मापदण्डमा टेकेर छिटो नियुक्ति प्रक्रियालाई अगाडि बढाउनुपर्ने सुझाब आएको उनले बताएका छन् ।
वैठकले साँगठनिक एकताको बाँकी कामको ठोस प्रस्ताव तयार गर्न अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णुप्रसाद पौडेललाई जिम्मेवारी दिने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताएका छन् ।
बालुवाटारमा आज बसेको बैठकले प्रस्ताव तयार गर्न १० दिनको समय निर्धारण गरेको छ । ठोस प्रस्ताव आएपछि त्यसबारे थप छलफल गरेर सचिवालय बैठकले अनुमोदन गर्ने बताइएको छ ।
त्यसैगरी रिक्त रहेका संवैधानिक निकायमा छिटो पदपूर्ति गर्न पनि बैठकले प्रधानमन्त्री ओलीलाई सुझाव दिएको छ । संवैधानिक परिषदको बैठक बसी संविधानको मर्म र भावना बमोजिम निर्णय लिन प्रधानमन्त्रीलाई सुझाव दिइएको प्रवक्ता श्रेष्ठले बताएका छन् । सरकारले विभिन्न संवैधानिक आयोगमा अझै पदपूर्ति गर्न सकेको छैन ।
संवैधानिक निकायको पदपूर्तिका लागि सचिवालयका सदस्यहरुले आफ्ना सुझावहरु राखेको बताइएको छ ।
यसअघि गत आइतबार सचिवालयको बैठक पेरिसडाँडामा बसेको थियो । नेकपा सचिवालयमा अध्यक्षद्वय, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता श्रेष्ठ, नेताहरु ईश्वर पोखरेल, रामबहादुर थापा बादल र महासचिव पौडेल रहेका छन् ।