काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकको कार्यसूची बारेमा दुई अध्यक्षबीच छलफल भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा अोली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच वालुवाटारमा आज दिउँसो छलफल भएको हो ।
आइतबार बसेको सचिवालय बैठकको कार्यसूचीको पहिलो नम्बरमा मन्त्रिपरिषद पुनर्गठनको विषय थियो । सचिवालयका सदस्यहरुले मन्त्रिपरिषद पुनर्गठनको विषयमा आइतबार अनेक कोणबाट सुझाव दिएका छन् । उनीहरुको सुझावलाई केन्द्रमा राखेर दुई अध्यक्षबीच आज पुराना कसकसलाई हटाउन र नयाँ मन्त्री कसकसलाई बनाउने भन्ने विषया छलफल भएको बुझिएको छ ।
मन्त्रिपरिषद पुनर्गठनबारे सचिवालयका नेताहरु सहमत भएपनि त्यसको एकिन खाका बनिसकेको छैन ।
पुराना सबै मन्त्रीलाई फेरबदल गर्ने कि राम्रो काम गरेका मन्त्रीलाई कायमै राख्नेबारेमा सचिवालय बैठकमा एकमत देखिएको छैन । राम्रो काम गर्ने केही मन्त्रीहरुलाई कायमै राखेर केही नयाँ मन्त्रीलाई जिम्मेवारी दिने विषयमा प्रधानमन्त्री ओली सकारात्मक देखिएको सचिवालयका सदस्यहरुले बताएका छन् ।