काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्यमा मनोनित भएका छन् ।
मन्त्रिपरिषद् बैठकले गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को सिफारिस पछि राष्ट्रपति विद्यादेवी भण्डारीले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्नुभएको हो ।
तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल सकिएपछि राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने तीनमध्ये एक सिट फागुनदेखि खाली थियो ।
सोही पदमा गौतमलाई राष्ट्रपत भण्डारीले नियुक्त गर्नु भएको हो ।
राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञिप्तिमा भनिएको छ “आज मिति २०७७ साल असोज १ गते विहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीयूबाट नेपालको संविधानाको धारा ८६ को उपधारा (२) खण्ड (ख) वमोजिम नेपाल सरकारको सिफारिसमा श्री वादेव गौतम दाखाक्वाडी–१, प्यूठानलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्नु भएको छ ।”
गौतमले सांसदको पद तथा गोपनीयताको शपथ आज अपराह्न ४ बजे लिने भएका छन् । संसद् सचिवालयका अनुसार आज अपराह्न ४ बजे संसदको कृषि समितिको सिंहदरबारस्थित हलमा शपथग्रहण कार्यक्रम राखिएको छ ।