काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकार डा. युवराज खतिवडालाई नियुक्त भएका छन् । सोमवार बसेको मन्त्रिपरिषद् वैठकले हालै अर्थमन्त्रीबाट राजीनामा दिएका खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय सरकारले गरेको परराष्ट्रमन्त्री समेत रहेका सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।
डा खतिवडालाई मन्त्रीस्तरीय सुविधा उपलब्ध गराउने गरी नियुक्त गर्ने निर्णय भएको मन्त्रिपरिषद्को निर्णय आज सार्वजनिक गर्दै ज्ञवालीले जानकारी दिएका हुन्।
त्यस्तै सोमबारकै मन्त्रिपरिषद् बैठकले असोज १ गतेबाट नै आन्तरिक उडान र लामो दुरीका सार्वजनिक सवारी साधन संचालन गर्न दिने निर्णय गरेको छ। तर यी सेवा संचालन गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड भने अनिवार्य रूपमा पालना गर्नुपर्ने बताइएको छ ।
वस व्यवसायीले साविकको भाडादरमा ५० प्रतिशत बढाएर लिन सक्ने मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले बताएका छन् ।
बसको एक लहरको सिटमा एक/एक जना मात्र बस्न पाइनेछ । संक्रमणको जोखिम बढेको अवस्थामा स्थानीय प्रशासनले आवश्यक निर्णय लिन सक्ने पनि उनले स्पष्ट गरेका छन् ।
सरकारले होटल रेष्टुरेन्टहरु पनि असोज १ गतेबाटै खुला गर्ने निर्णय गरेको छ । विमानमा सिटमा पनि क्षमताको आधा मात्र यात्रु राख्नुपर्ने छ भने मास्क, भाइजर अनिवार्य गरिएको छ ।