काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ चार वर्षे कार्यकाल सकेर विदा भएका छन् । उनको कार्यकाल हिजो सकिएपनि आज प्राधिकरणमा औपचारिक कार्यक्रमका साथ विदा भएका हु्न ।
चार वर्ष कार्यकारी निर्देशक भएका कुलमानले प्राधिकरणमा विभिन्न पदमा रहेर २६ वर्ष काम गरेका थिए ।
प्राधिकरणमा आयोजित विदाई कार्यक्रममा बोल्दै उनले अब प्राधिकरणमा आउने क्षमतावान् व्यक्तिले राम्रो गर्नसक्ने उनले बताए । आफुले ४ वर्ष कार्यकारी निर्देशकको भूमिकामा रहँदा दबाबको बाबजुद पनि प्राधिकरणको हितमा अडान लिएर काम गरेको दावी गरेका छन् ।
उनले आफू व्यक्तिगत हितमा नलागि संस्थाको लागि धेरै अडान लिएर काम गरेकै कारण सफलता पाएको दावी उनले गरेका छन् ।
सरकार, ऊर्जा मन्त्रालय, प्राधिकरणमा रहेका कर्मचारी संगठन, सञ्चालक समितिको भूमिका पनि उत्तिकै महत्वपूर्ण रहेको वताएका छन् । सामूहिक पहलबाट प्राधिकरणले मुलुकलाई लोडसेडिङमुक्त बनाउन सफलता पाएको उनले बताएका बताएका छन् ।
प्राधिकरणमा आफू चार वर्ष कार्यकारी निर्देशकको रुपमा रहँदा प्रसारणलाइन, नयाँ आयोजनाको थालनीदेखि निर्माणाधीन आयोजनाहरुमा उल्लेख्य काम गरेको र लोडसेडिङ हटाएकै कारण देशको सबैभन्दा धेरै नाफा कमाउने संस्थानको रुपमा अहिले देखिएको उनले बताए । उनले आफ्नो कार्यकालमा भएका महत्वपूर्ण कामहरुको फेरिस्त नै सार्वजनिक गरेका छन् ।
उनले भनेका छन् “मैले जिम्मेवारी सम्हाल्दा लोडसेडिङको अन्धकारले मुलुक आक्रान्त थियो । वर्षातको समयमा समेत ६ देखि ८ घण्टाको लोडसेडिङ व्यहोरिरहनुपरेको र हिउँदमा दैनिक १४ घण्टासम्म लोडसेडिङ गर्नुपर्ने प्रक्षेपण थियो। प्राधिकरणको वित्तीय अवस्था अत्यन्त नाजुक थियो । प्राधिकरणको आव २०७२/०७३ सम्ममा सञ्चित घाटा ३४ अर्ब ६१ करोड पुगेको थियो भने सोही वर्ष ८ अर्ब ८९ करोड खुद नोक्सानी थियो ।”
उनले भनेका छन् “एकातर्फ कहालिलाग्दो अँध्यारोले मुलुक आक्रान्त थियो भने अर्कोतर्फ प्राधिकरणको घाटाको ग्राफ बढ्दो क्रममा थियो । प्रणालीमा वार्षिक विद्युत् चुहावट २५.७८ प्रतिशत थियो, करिब ६३ प्रतिशत जनता मात्रै ग्रीडको विद्युत् पहुँचमा थिए । सरकारले मलाई दिएको मुख्य जिम्मेवारी पनि लोडसेडिङको अन्त्य गरी अँध्यारो युगलाई उज्यालो बनाउने र प्राधिकरणको सुधार गर्ने नै थियो ।”
सरकारले दिएको जिम्मेवारी सफलतापूर्वक पूरा गरेको वताउँदै उनले भनेका छन् “वर्षभर सबैभन्दा बढी विद्युत् माग हुने तिहारको लक्ष्मीपूजाका दिन कुशल व्यवस्थापन एवं प्रभावकारी प्रणाली सञ्चालनमार्फत परीक्षणको रुपमा मुलकभर निरन्तर विद्युत् आपूर्ति गर्न सफल भयौंं ।”