काठमाडौं । पूर्व–पश्चिम रेलमार्ग अन्तर्गत काक्कडभिट्टा–इनरुवा खण्ड निर्माणको ठेक्का रद्द गरिएको छ । रेल, मेट्रोरेल र मोनोरेल डेभलेपमेन्ट प्रोजेक्टले आज एक सार्वजनिक सूचना प्रकाशित गरेर रेल्वे ट्याकबेड बनाउन आव्हान गरेको बोलपत्र रद्द गरेको हो ।
विभागले आज एक राष्टिय दैनिकमा सूचना प्रकाशित गर्दै ठेक्का रद्ध भएको जानकारी दिएको हो। विभागद्वारा प्रकाशित सूचनामा गत असारमा प्रकाशित (विड नम्बर २/२०७६/७७ र ३ /०७६/७७) का दुई बोलपत्र रद्ध गरिएको उल्लखे छ ।
जग्गाको मुआब्जा वितरण टुंगो नलाग्दै सरकारले १०६ किलोमिटरको रेलमार्ग बनाउन ५४ वटा प्याकेजमा ठेक्का आह्वान गरेको थियो । ती सबै रद्द भएको सूचनामा उल्लेख छ ।
बोलपत्र मूल्यांकन समितिले कोरोना महामारी र जग्गा प्राप्ति तथा ‘साइट क्लिरेन्स’ तत्काल हुन नसक्ने भएकाले बोलपत्र सकार्न नसकिने राय दिएको थियो ।
रेल्वे विभागको कानून र लेखा शाखाले पनि ठेक्का प्रक्रिया रद्द गर्ने राय महानिर्देशालाई दिएका थिए । कानून, लेखा शाखा तथा बोलपत्र मूल्यांकन समितिको राय विपरित जान नसक्ने भए पछि विभागले सूचना प्रकाशित गरी बोलपत्र रद्द गरेको हो ।
बोलपत्र मूल्यांकन समितिले कोभिडको कारण जग्गा प्राप्तिमा ढिलाई भइरहेको, साइड क्लियरेन्स कहिले हुन्छ भन्ने अन्योल रहेको, ठेक्का लाग्ने तर ठेकेदारलाई काम गर्ने ठाउँ दिन नसक्दा राज्यको दायित्व बढ्ने कारण देखिएकाले रद्द गर्ने राय दिएको स्रोतले जनाएको छ ।
जग्गा अधिग्रहण नगरि, रेलमार्ग प्रभावितलाई मुआब्जा नदिई ठेक्का लगाउनु र ठेकेदार कम्पनीहरुलाई पेस्की दिने तयारी गरिएको भन्दै विरोध हुँदै आएको थियो ।
३३ अर्ब ३४ करोड ८० लाख रुपैयाँको १०६ किलोमिटर लम्बाईको ट्रयाक बेड निर्माणका लागि १८ ठेकेदार सहभागी थिए भने सो ठेक्का ५४ टुक्रा पारिएको थियो । खरिद प्रक्रियाम योग्यता तोकिएका ठेकेदारसँग ज्वाइन्ट भेञ्चर गरेर अन्य ठेकेदार ठेक्कामा सहभागी हुन पाउने व्यवस्था गरिएको थियो । ठेक्का प्रक्रिया थालनी गर्नु पूर्व नै कुल ६८१ विघा ९ कठ्ठा १० धुर जग्गा अधिग्रहण गर्नुपर्ने थियो । तर त्यो हुन सकेको थिएन ।