काठमाडौं । नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशन निर्धारित मितीमा होला कि नहोला भन्ने बिषयमा संसय उत्पन्न भएको छ । यही संसयका बिच महाधिवेशनको मुद्धामा केन्द्रित भएर संस्थापन इतर बरिष्ठ नेता रामचन्द्र पौडेल समुहले सभापति शेरबहादुर देउवाको निरकुंश शैली र बेथितिका बिरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ ।
शनिवार देउबा इतर पौडेल समुहको भर्चुवल बैठक भएको थियो । उक्त बैठकले सभापति देउवाले क्रियाशील सदस्यताको काम समयमा अगाडि नबढाएको आरोप लगाएको छ । केही खास जिल्लामा मात्र क्रियाशील सदस्यताको लागि फाराम पठाएर अरु जिल्लाहरुमा नपठाएकोमा उनीहरुले बैठकमा आपत्ति जनाएका छन । महाधिवेशनको मिती नजिकिदासम्म पनि सवै जिल्लाहरुबाट क्रियाशील सदस्यताको काम समयमै अगाडि बढाउन नसकेको प्रति बैठकमा सभापति देउवाको आलोचना भएको छ । यो कुराले नेपाली काँग्रेसको आगामी महाधिवेशन समयमा हुने बिषयमा आशंका जन्मिएको भन्दै संस्थापन समुह गंभिर नभएको आरोप उनीहरुको रहेको छ ।
महाधिवेशनको मुद्धामा केन्द्रित हुनुपर्ने समयमा सभापति देउवा पार्टीको बिभाग गठनमा नै व्यस्त भएको बैठकको ठहर रहेको छ । पार्टी बिधान बिपरित र मनोमानी ढंगले हाल भइरहेको बिभाग गठन र आफु निकटका नेता तथा कार्यकर्तालाई मनोनित गरेकोप्रति पनि बैठकले खेद जनाएको छ ।
१३ महाधिवेशन सम्पन्न भएको छ महिना भित्रमा गठन गरिसक्नुपर्ने बिभागहरु अहिले धमाधम गठन भइरहेका छन । सभापति देउवाबाट बिधान बिपरित भइरहेको यस्ता कार्यलाई तत्काल सच्चाउनका लागि बैठकले आग्रह गर्ने निर्णय गरेको छ । यसका लागि सभापतिलाई एकहप्ताको अल्टिमेटसहितको समयसीमा दिएका छन । आफुहरुले दिएको समयसीमा भित्र गलत निर्णय सच्चाउन सभापति देउबा तयार नभएको खण्डमा आन्दोलन गर्ने निर्णय उनीहरुले गरेका छन । त्यसको लागि उनीहरुले नेता कृष्णप्रसाद सिटौलासँग पनि छलफल र मरामर्श गरेर अगाडि बढने राणनीति अख्तियार गरेका छन ।
संसदमा प्रमुख प्रतिपक्षदलको भुमिकामा रहेको नेपाली काँग्रेस भित्रको यो बिवाद नौलो भने होइन । हरेक महाधिवेशनमा यस्ता बिषयहरु जल्दोबल्दो रुपमा उठने गरेका छन । यी बिषयहरु संस्थापनइतर समुहले हरेक महाधिवेशन हुनु अगाडि उठाउने गरेका छन । तर संस्थापन पक्षले बेवास्था गर्दै एकलौटी ढंगले अगाडि बढने नेपाली कांग्रेसको परम्परा नै बन्दै आएको छ ।
महाधिवेशनको सुनिश्चिता नहुँदै सभापति पदको लागि एकदर्जन नेताहरुले आ–आफनो उम्मेदवारी घोषणा गर्न भ्याइसकेका छन ।